ग्रीनल्यान्डमा दुर्लभ पदार्थ उत्खनन गर्ने परियोजनाको विरोध गर्ने एक वामपन्थी दलले समयअगावै गरिएको निर्वाचनमा सबभन्दा धेरै सीट ल्याएको छ ।
इनुइट आताकातिगीत (आईए) नामक दलले ३७ प्रतिशत मत हासिल गरेको छ जबकि चार वर्षअघिको निर्वाचनमा उसले २६ प्रतिशत मत ल्याएको थियो ।
मंगलवार भएको निर्वाचनको परिणामले क्वानेफेल्डमा रहेको उत्खनन परियोजनामा शंका उत्पन्न गराएको छ ।
ग्रीनल्यान्डको विशाल खनिज स्रोत दोहन गर्न खोजिरहेका अन्तर्राष्ट्रिय उत्खनन कम्पनीहरूलाई यसले दह्रो सन्देश दिएको छ ।
सत्तारूढ सिउमुत पार्टीले २९ प्रतिशत भोट पाएको छ ।
उत्खनन समर्थक सिउमुत पार्टी सन् १९७९ देखि सत्तामा छ ।
उत्खननको ठाडो विरोध नगरे पनि आईएले वातावरणमा धेरै जोड दिने गरेको छ । उसले क्वानेफेल्ड परियोजना रोक्नका लागि अभियान चलाएको छ । उक्त परियोजनाले नियोडाइमियम लगायत दुर्लभ पदार्थ तथा युरेनियम उत्खनन गर्न खोज्दैछ ।