
प्रतिनिधि सभाको बैठक बिहीवार (आज) दिउँसो बस्दैछ ।
संसद भवन नयाँ बानेश्वरमा दिउसो १ बजे बस्ने बैठकका विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले सूचना प्रविधि सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूची छ ।
प्रतिनिधि सभाको बैठक अघि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । बैठकमा विभिन्न समितिमा रहेका सदस्य र संयुक्त सभाका समितिमा सदस्य हेरफेर सम्वन्धी विषयमा छलफल गर्ने कार्यसूची रहेको सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिए ।
कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादी केन्द्रले कारवाहीका लागि सिफारिश गरेका ४ जना सांसदको बारेमा समेत छलफल हुँदैछ । यो प्रतिनिधि सभा गठन भएपछि कुनै दलले दल त्याग ऐन अनुसार एकै पटक चार सांसदको पद खारेजीका लागि निवेदन दिएको यो पहिलो घटना हो ।
सचिवालयका एक अधिकारीले माओवादी केन्द्रको प्रस्तावबारे कार्यव्यवस्था परामर्श समिति बैठकमा छलफल हुने बताए । माओवादी केन्द्रले एमालेका प्रवेश गरेका टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरी शंकर चौधरीलाई कारवाहीका लागि पत्र संसद सचिवालयमा पठाएको थियो ।