सर्वाेच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) एकीकरणलाई बदर गरिसक्दा समेत संघीय संसदका संसदीय समितिमा नेकपाको प्रतिनिधित्व रहेको भन्दै नेकपा एमालेले आपत्ति जनाएको छ ।
बिहीवारको प्रतिनिधिसभा बैठकको शुरूमै सभामुख अग्निप्रसाद सापकोटासँग समय मागेर सांसद खगराज अधिकारीले संसदीय समितिमा हेरफेर गर्न माग गरे ।
बदर भइसकेको नेकपाको प्रतिनिधित्व संसदीय समितिमा रहेको बताउँदै सांसद अधिकारीले दलको हैसियत अनुसार समितिमा हेरफेर हुनुपर्ने माग गरे । अवैध तरिकाले नेकपाको नाममा समितिमा प्रतिनिधित्व गर्न नसकिने सांसद अधिकारीले बैठकमा जानकारी दिए ।
सांसद अधिकारीले सबै दलले नाम दिएपछि समितिमा हेरफेर गरिने जानकारी दिएका छन् ।
नेकपा नाम विवादमा फागुन २३ गते फैसला सुनाउँदै अदालतले एकता बदर गरेपछि नेकपा एकीकरणको अस्तित्व समाप्त भएको थियो । अहिले संसदमा नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएका छन् ।