भारतको उत्तराखण्डमा २९ वर्षीय एक व्यक्ति रक्सीले टिल्ल भएर पण्डालभित्र धार्मिक समारोहमा प्रवेश गरेको आरोप लगाउँदै भीडले कुटीकुटी हत्या गरेको छ ।
घटना मंगलवार अपराह्न उधम सिंह नगर जिल्लामा दुर्गा मन्दिर नजिक भएको हो ।
जोनी सागर नामक ती व्यक्ति पण्डाल बाहिरको सडकमा तीन घन्टासम्म छटपटाउँदै बसेको अनि कसैले पनि उद्धार नगरेको प्रहरी अधिकृत डीएस कुँवरले बताए ।
पछि केही बटुवाहरूले उनको हालत देखेर उनलाई जिल्ला अस्पतालतिर दौडाए तर उनको मृत्यु भइसकेको थियो ।
मातिएको सुरमा ती व्यक्तिले पण्डालभित्र मानिसहरूसँग झगडा गरेपछि उनीहरूले रामधुलाइ गरेका थिए ।
भारतीय दण्ड संहिताको दफा ३०२ (हत्या) अन्तर्गत अपरिचित व्यक्तिहरूमाथि उजुरी दर्ता गरिएको छ । मृतककी पत्नीले उजुरी दर्ता गरेकी हुन् ।
आरोपितको पहिचान खुलाउनका लागि सीसीटीभी फूटेजको अनुसन्धान गरिएको प्रहरीको भनाइ छ ।