
नेकपा (माओवादी केन्द्र) छाडेर एमालेमा लागेका ४ मन्त्री सांसद पदबाट पदमुक्त भएका छन् ।
सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले दल त्याग गरेको भनी माओवादीले पठाएको पत्र सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठकमा पेश गरेपछि चारै जनाको पद रिक्त भएको हो ।
रायमाझी अर्घाखाँची, भट्ट कैलाली ४, चौधरी कैलाली ३ र साह रौतहट ३ बाट निर्वाचित भएका थिए ।
यी चारवटै क्षेत्र रिक्त भएको जानकारी संसद् सचिवालयले निर्वाचन आयोगलाई छिट्टै पठाउने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।
प्रत्यक्ष निर्वाचित सांसदहरूको पद रिक्त भएको अवस्थामा उपनिर्वाचन गराउनुपर्ने संवैधानिक व्यवस्था छ ।
'आज प्रतिनिधि सभाको बैठकबाट प्रतिनिधिसभामा बहाल रहेका चारजना सदस्यहरूको पद रिक्त भएको सूचना जारी भएको छ । यो सूचनासँगै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नुहुने चारजना सदस्यको पद रिक्त भएको छ । यस सम्बन्धमा यो पद रिक्त भएको सूचना निर्वाचन आयोगलाई सचिवालयले लेखेर उपलब्ध गराउँछ । यसैगरी मन्त्रिपरिषद्लाई पनि जानकारी गराउँछ,' धमलाले भने ।
उनले ६ महिनाभन्दा बढी कार्यकाल रहेको अवस्थामा उपनिर्वाचन गर्नुपर्ने कानूनी व्यवस्था रहेको बताए ।
'प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी भएको अवस्थामा उपनिर्वाचनबाट त्यस्तो पदपूर्ति गर्ने भन्ने व्यवस्था छ र प्रतिनिधि सभाको अहिले ६ महिना भन्दा बढी कार्यकाल रहेको छ । त्यसैले रिक्त रहेका चारजना सदस्यको पद उपनिर्वाचनमार्फत पूर्ति हुने व्यवस्था छ । यसको सम्बन्धमा निर्वाचन आयोगले मिति निर्धारण गर्छ र त्यो मितिमा उप–निर्वाचन हुन्छ र त्यो उप–निर्वाचनमार्फत नै ती पदहरू पूर्ति हुने व्यवस्था छ ।'