
प्रधानमन्त्री केपी शर्मा ओलीले रोजगारीका अवसर सिर्जना, उत्पादन र उत्पादकत्व वृद्धिलाई केन्द्रमा राखेर काम गर्न उद्यमी–व्यवसायीलाई आह्वान गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्शको ७० औं वार्षिक साधारण सभाको बिहीवार उद्घाटन गर्दै उनले रोजगारीका अवसरका साथै उत्पादन र उत्पादकत्व बढाउनेतर्फ स्रोत परिचालन गर्नुपर्नेमा जोड दिए ।
अन्य उद्यमी–व्यवसायीलाई पनि उत्पादकत्व वृद्धिका निम्ति अभिप्रेरित गर्न तथा त्यसकै लागि लगानी बढाउन आग्रह गर्दै प्रधानमन्त्रीले नीतिगत एवं प्रक्रियागत झन्झट झेल्ने परिस्थितिको अन्त्य गर्न आफू लागिपरेको बताए ।
‘प्रक्रियाको जञ्जालबाट सरलीकरणतर्फ जान जरुरी छ, एकद्वार प्रणालीलाई प्रभावकारी बनाउँछौं, प्रशासनिक झन्झट पनि अन्त्य गर्छौं,’ उनले भने ।
उद्योगी–व्यवसायीले व्यहोर्नुपरेका कठिनाइबारे जानकार प्रधानमन्त्रीले त्यस्ता व्यवधान चिरेर छाड्ने दृढता व्यक्त गरे । एकद्वार प्रणालीलगायत सरकारले उद्योग तथा लगानीमैत्री वातावरण बनाउन अवलम्बन गरेका सुधारका कार्यक्रमलाई अझ सरल र सहज तुल्याइने उनले बताए ।
अत्यावश्यक उपभोग्य वस्तु मात्र आयात गर्न तथा निर्यातमूलक सामग्रीको उत्पादन बढाउन सुुझाउँदै प्रधानमन्त्रीले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनबाटै व्यापार असन्तुलन घटाउन सकिने बताए । ‘देश निर्माण गर्ने संकल्प र आत्मविश्वासका साथ अघि बढ्नुहोस्, तपाईंहरूलाई सघाउन सरकार तयार छ,’ उनले भने, ‘राष्ट्रको औद्योगिक विकासका लागि सरकार स्पष्ट दृष्टिकोणका साथ अघि बढिरहेको तथा त्यसलाई कार्यान्वयन गर्न निजी क्षेत्रको साथ र सहयोग अपरिहार्य छ ।’
देशको विकास र विकासको समुचित प्रतिफल नेपाली जनतामा पुर्याउने वर्तमान सरकारको लक्ष्यलाई साकार पार्न आफू क्रियाशील रहेको उनको कथन थियो ।