२८ जेठ २०८३, बिहीबार

रियाल मड्रिडले जित्ला ला लिगा ?

चैत २९, २०७७
रियाल मड्रिडले जित्ला ला लिगा ?

रियाल मड्रिडले पोहोरको सीजनमा नपत्याउँदो तरिकाले ला लिगा जितेको थियो भने यसपालि पनि त्यो उपलब्धि दोहोर्‍याउने छेकछन्द ल्याएको छ । 

शनिवार राति आल्फ्रेडेको डी स्टेफानो स्टेडियममा मुसलधारे पानी परिरहँदा जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियालले कटु प्रतिस्पर्धी बार्सिलोनालाई क्लासिकोमा २–१ गोल अन्तरले हराएर अंकतालिकाको शीर्ष स्थान कब्जा गरेको छ । 

अहिले रियाल मड्रिड र एट्लेटिको मड्रिड दुवैको समान ६६ अंक छ भलै एट्लेटिकोले कम खेलेको होस् । जे होस्, रियालका लागि यो निकै ठूलो जीत हो । 
 

सर्जिओ रामोस र रफाएल भराने जस्ता दिग्गज सेन्टरब्याक विना नै खेलिरहेको रियाललाई डिफेन्समा निकै समस्या परिरहेको थियो । अझ कासेमिरो पनि मैदानबाट बाहिरिएपछि रियाल अप्ठ्यारोमा परेको थियो । तैपनि उनीहरू अडिग रहे । 

बार्सिलोनाका सब्स्टिच्युट खेलाडी इलाक्स मोरिबाले खेल सकिने बेलातिर बराबरी गोल गर्नै लागेका थिए तर उनको प्रहार क्रसबारमा लागेर फर्कियो । त्यसपछि आगन्तुक बार्सिलोना स्तब्ध भयो अनि आयोजक रियाल मड्रिड खुशी भयो । 

यो निकै महत्त्वपूर्ण क्लासिको खेल थियो । अहिले दुवै क्लब फर्ममा छन् र एट्लेटिकोलाई अग्रस्थानबाट झार्ने स्थितिमा छन् । एट्लेटिकोले आइतवार बेटिससँग खेल्दैछ ।
 

जिदानका खेलाडीहरू ठूला खेल र महत्त्वपूर्ण क्षणहरूमा जीवन्त हुन्छन् । त्यसैले गर्दा त उनीहरूले लगातार तीनपटक च्याम्पियन्स लीग जितेका हुन् । अहिले उनीहरू विजयको मानसिकतामा छन् र शायद उनीहरूले उपाधि हात पार्न सक्छन् । 

बुधवार एनफील्डमा लिभरपूलविरुद्ध च्याम्पियन्स लीगको खेलमा रियाल मड्रिडलाई हिजोको खेलले थप हौसला दिएको हुनुपर्छ । गत साता लिभरपूललाई ३–१ ले हराएर उनीहरूले एउटा खुट्टा सेमीफाइनलमा राखिसकेका छन् । 

रियाल मड्रिडले ला लिगा र च्याम्पियन्स लीग दुवै जित्ने प्रबल सम्भावना छ । शंका गर्ने भए गरिरहनुस् । 
 

salt training

कमेन्ट गर्नुहोस्