
मुसलमानी टोपी लगाएका एक व्यक्तिले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको कानमा खुसखुसाएको एउटा तस्वीर हालै भाइरल भएको छ ।
त्यसपछि सामाजिक सञ्जालमा अनेकौं मिम बने र एआईएमआईएमका प्रमुख असदुद्दीन ओवैसीले प्रधानमन्त्रीलाई एक सार्वजनिक समारोहमा व्यंग्य समेत गरे ।
ती रहस्यमय व्यक्ति को हुन् त ?
भारतीय पत्रिका द टाइम्स अफ इन्डियाका अनुसार, ती ३८ वर्षीय व्यक्ति जुल्फिकर अली हुन् र भारतीय जनता पार्टीका कार्यकर्ता हुन् । उनले १० कक्षा पढ्दापढ्दै विद्यालय त्यागेका रहेछन् ।
‘मैले मोदीलाई एउटा सेल्फी लिन सक्छु कि भनी अनुमति मागेको थिएँ । उहाँले मान्नुभएको थियो । उहाँले मेरो काँधमा हात राख्नुभयो र एकजना फोटोग्राफरलाई तस्वीर खिच्न भन्नुभयो । उहाँसँग बिताएको ४० सेकेन्ड म जिन्दगीभर भुल्ने छैन,’ अलीले भने ।
भाइरल बनेको तस्वीरले आफूलाई चर्चित बनाएकोमा उमा गर्वबोध देखिन्थ्यो ।
आफू भाजपामा सन् २०१४ देखि आबद्ध रहेको र अहिले दक्षिण कोलकातामा पार्टीको अल्पसंख्यक मोर्चाको अध्यक्ष रहेको उनले बताए । शनिवार पश्चिम बंगालको मतदानको चौथो चरणमा बेहाला, टोलीगञ्ज र कस्बामा विभिन्न मतदान केन्द्रमा उनले स्वयंसेवीहरूको निगरानी गरिरहेका थिए ।
अप्रिल २ मा फोटो सोनारपुरमा खिचिएको थियो । त्यतिखेर मोदीले चुनावी सभा सकेका थिए ।
‘म हेलिप्याडमा उहाँलाई बिदाइ गर्नका लागि छानिएका ६ जनामध्ये एक थिएँ । तीमध्ये पनि सबभन्दा अन्तिममा बिदा गर्ने म थिएँ । उहाँ मनजिक आएपछि उहाँको कानमा साउती गर्दै उहाँसँग सेल्फी खिच्न मन छ भनें । उहाँले एक फोटोग्राफरलाई अह्राउनुभयो तर सेल्फी खिच्ने मौका आएन । त्यसको केही घन्टापछि मैले अनेकौं कल पाएँ र प्रधानमन्त्रीसँगको मेरो तस्वीर भाइरल भएछ भनी थाहा पाएँ ।’