
पूर्वी चितवनको राप्ती नगरपालिका–११ मा मजदुर बोकेको ट्रयाक्टर दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमवार बिहान उपचारका क्रममा थप १ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा राप्ती नगरपालिका–४ का ४५ वर्षीय सूर्यबहादुर श्रेष्ठ रहेका छन् । उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा मृत्यु भएको कार्यालयका प्रवक्ता सूर्यबहादुर थापाले जानकारी दिए ।
आइतवार साँझ भएको ट्रयाक्टर दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा राप्ती नगरपालिका–५ का ३५ वर्षीय खड्क लामा, खैरहनी नगरपालिका–९ का ४० वर्षीय मगन महतो, ५० वर्षीया छनिया महतो र राप्ती नगरपालिका–४ का ४५ वर्षीय सीताराम श्रेष्ठ रहेका छन् ।
एक जना अन्दाजी २५ वर्षीय पुरुषको नाम थर ठेगाना खुल्न सकेको छैन । थाकलटारबाट चिउँडेखोलातर्फ आउँदै गरेको ना१त ६२८२ नम्बरको ट्रयाक्टर अनियन्त्रित भई आम पानीस्थित चिउँडे खोलामा दुर्घटना भएको थियो ।
ट्रयाक्टर सडकबाट करीब २०० मिटर तल खस्दा सवार १८ जना घाइते भएका छन् ।
घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको छ भने १० जनाको अवस्था मध्यम रहेको छ । १ जनाको अवस्था सामान्य छ । घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ।