इरानको नातान्ज आणविक भट्टीमा बत्ती गएको घटनामा इजरायलको संलग्नता रहेको हुन सक्ने संकेत इजरायलका सेनाप्रमुखले दिएका छन् ।
इरानी अधिकारीहरूले युरेनियम संवर्धन गर्ने भूमिगत भट्टीमा घटना भएको पुष्टि गरेका छन् । ‘सौभाग्यवश घटनाका कारण मानिसलाई कुनै चोटपटक लागेन वा लीक पनि थिएन,’ इरानको एटोमिक एनर्जी अर्गनाइजेसनका एक प्रवक्ता बहरुज कमलवन्दले बताए ।
उक्त संस्थाले यो ‘आतंकवादी कार्य’ भएको बताएको छ ।
इरानी अधिकारीहरूले घटनाको बारेमा जानकारी दिएलगत्तै इजरायलका सेनाप्रमुख अभिभ कोचाभीले मध्यपूर्वमा हामीले गर्ने कारवाही शत्रुको आँखाबाट नलुकेको बताए ।
‘उनीहरू हामीलाई हेरिरहेका छन्, हाम्रो क्षमता देखिरहेका छन् र आफ्नो कदम त्यसैअनुरूप चालिरहेका छन्,’ उनले बताए ।
इजरायलका कतिपय सञ्चारमाध्यमले आइतवार गुप्तचर अधिकारीहरूलाई उद्धृत गर्दै इजरायलको राष्ट्रिय गुप्तचर निकाय मोसाद घटनाका लागि जिम्मेवार रहेको लेखेका छन् ।