०३ असार २०८३, बुधबार

काठमाडौंका सबै ठाउँमा पुगेन मेलम्चीको पानी

चैत ३०, २०७७
काठमाडौंका सबै ठाउँमा पुगेन मेलम्चीको पानी

मेलम्चीको पानी वितरण गर्ने भनिएका काठमाडौं उपत्यकाका कतिपय स्थानमा आवश्यक संरचना नबनेका कारण पानी वितरण हुन सकेको छैन ।

काठमाडौं उपत्यकामा चक्रपथभित्र धेरै ठाउँमा खानेपानी वितरण गरिरहे पनि आयोजना कार्यान्वयन निर्देशनालयले संरचना बनाइरहेको स्थानमा अहिले पानी वितरण शुरू हुन नसकेको हो । 

कतिपय स्थानमा पाइप बिच्छ्याउन, लिफ्ट बनाउन वा क्रसिङमा आवश्यक संरचना बनिनसकेको निर्देशनालयले जनाएको छ । पहिलो चरणमा पानी वितरण हुने स्थानमा मध्यपुरठिमी, भक्तपुर, कीर्तिपुर लगायतका स्थानमा संरचना बन्न बाँकी भएको काठमाडौं उपत्यका खानेपानी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए ।

उनका अनुसार चक्रपथभित्र र आसपासका क्षेत्रमा मात्रै अहिले पानी वितरण भइरहेको छ । उनले भने, ‘कीर्तिपुर र भक्तपुर जिल्लामा थप पानी आएपछि र संरचना बनिसकेपछि मात्र पानी वितरण हुनेछ ।’

लिमिटेडले कीर्तिपुरमा लिफ्ट बनाइरहेको छ र त्यो बनिसकेपछि त्यहाँ पानी वितरण हुनेछ । 

मध्यपुरमा क्रसिङमा आवश्यक संरचना निर्माण भएको छ । त्यो सेटिङ हुन कम्तीमा २८ दिन लाग्ने निर्देशनालयका सूचना अधिकारी जगत प्रजापतिले बताए । उनका अनुसार त्यहाँ काम शुरू भएको २ हप्ता भयो । अबको २ हप्तामा पानी वितरण गर्न सकिने उनले बताए ।

उनले भने, ‘ठिमीको ट्यांकीमा पानी गइसकेकाले अब २ हप्तामा त्यस क्षेत्रका वासिन्दाले पनि पानी पाउने छन् ।’ 

राष्ट्रिय गौरवको मेलम्ची खोपानी आयोजना निर्माण शुरू भएको २ दशकमा सम्पन्न भएपछि अहिले उपत्यकामा पानी ल्याइएको छ । मेलम्चीको पानी काठमाडौंसम्म ल्याउन सुरुङ, ‘हेडवर्क’ र प्रशोधन केन्द्र निर्माणको जिम्मेवारी मेलम्ची खानेपानी आयोजनाको हो । यसमध्ये सुरुङ र प्रशोधन केन्द्र सम्पन्न भएकाले पानी वितरण भइरहेको छ ।

सुन्दरीजलबाट उपभोक्ताका घरघरसम्म पानी वितरणका लागि आवश्यक ट्यांकी र पाइपलाइन बनाउने काम आयोजना कार्यन्वयन निर्देशनालयले गरिरहेको छ । पानीको वितरणको काम लिमिटेडले गरिरहेको छ । 

निर्देशनालयले उपत्यकामा १० स्थानमा ट्यांकी निर्माण गर्ने योजना बनाएकामा हालसम्म ९ ट्यांकी निर्माण सम्पन्न भइसकेको छ भने भक्तपुरको कटुञ्जेमा निर्माण भइरहेको छ । यी सबै पोखरीमा निर्देशनालयले परीक्षणसमेत गरिरहेको छ । अहिले उपत्यकामा अधिकांश स्थानमा पुरानै पाइपलाइनबाट पानी वितरण भइरहेको निर्देशनालयले जनाएको छ । 

salt training

कमेन्ट गर्नुहोस्