
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।
लगातार उकालो लागेको नेप्सेको वृद्धिको क्रम सोमवार पनि जारी रहँदा नयाँ इतिहास कायम भएको हो ।
नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १७.२० विन्दुले उकालो लागेर २ हजार ६९१.५५ मा पुगेको छ । नेप्सेले अब २ हजार ७०० को यात्रा तय गरेको छ ।
ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७८ विन्दुले उकालो लागेर ४८०.२९ मा पुगेको छ । कूल २१६ कम्पनीको १ करोड ३८ लाख २१ हजार ५७३ कित्ता शेयर ७ अर्ब ६१ करोड ८ लाख ८२ हजार ५० मा कारोबार भयो ।
सोमवारको कारोबारपछि बजार पूँजीकरण ३७ खर्ब २६ अर्ब ८० करोड ६५ लाख ६० हजारको हाराहारीमा पुगेको छ । यो मुलुकको कूल ग्रार्हस्थ उत्पादन (जीडीपी) को हाराहारी हो । कारोबार भएका कूल १३ उपसमूहमध्ये ६ उपसमूहको शेयर ओरालो लागेको छ भने ७ उपसमूहको शेयर उकालो लागेको छ ।
बैंकिङ १७.८१, विकास बैंक ३९.३६, निर्जीवन बीमा १६३.७६, उत्पादन १४.०६, लघुवित्त १८८.५६, जीवन बीमा १९७.७९ र सामूहिक लगानी कोष ०.०२ ले उकालो लागेको छ । व्यापार ६९.६२, होटल तथा पर्यटन ७५.१९, जलविद्युत् ४२.६७, वित्त १.३६, अन्य २९.७२ र लगानी ०.३३ विन्दुले उकालो लागेको छ ।
कारोबारका आधारमा सोमवार एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको २५ करोड ७ लाख १८ हजार ४७६ रुपैयाँ कारोबार भयो । नबिल बैंक २४ करोड ५३ लाख ५६ हजार ९६०, नेपाल पूर्वाधार बैंक २२ करोड ११ लाख ९७ हजार ५७०, नेपाल बैंक २१ करोड ४६ लाख १३ हजार ४९५ र गरिमा विकास बैंक १९ करोड ८१ लाख ११ हजार ९५४ बराबरको कारोबार भइ शीर्ष स्थानमा रहे ।
कारोबारका आधारमा एनआईसी एशिया लघुवित्त ९.९६, महिला लघुवित्त ९.९५, छ्याङ्दी हाइड्रोपावर ९.८७, ज्योति लाइफ इन्स्योरेन्स ९.८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ९.८० प्रतिशतले कमाए ।
यसैगरी साञ्जेन जलविद्युत् कम्पनी ४.४१, हिमाल दोलखा हाइड्रोपावर ३.९५, युनाइटेड मोदी ३.६५, युनिभर्सल पावर कम्पनी ३.४७ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ३.३६ प्रतिशतले गुमाए ।