
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले आगामी दिनमा भूकम्पको क्षतिबाट सम्पदालाई बचाउन सकिने आधार खडा भएको बताएका छन् ।
सोमवार ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालले आयोजना गरेको भूकम्पपछिको पुनर्निर्माण र पुनःस्थापनामा सदाचार कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले प्राधिकरणले गर्ने कामले थुप्रै सम्पदाको संरक्षण गर्ने प्रविधिलाई पुनर्विकास गरेको बताए ।
नयाँ प्रविधि देशभित्र आएको र त्यसलाई सरकारले स्वीकार गरेर अगाडि बढ्ने अवस्था समेत बनेको उल्लेख गर्दै उनले त्यसैको जगमा उभिएर आगामी दिनमा पुनः भूकम्प आए पनि सम्पदालाई जोगाउन सकिने बताए । पुरानै निर्माण सामग्री र प्रविधि प्रयोग गरेर जान सकिने आधार खडा गरिएको पनि बताए ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्पबाट क्षतिग्रस्त सम्पदाहरू, विद्यालय तथा भवनहरू पुनर्निर्माण गरेको जानकारी दिए । सम्पदालाई पुरानै ऐतिहासिकता जोगाउने गरी पुनर्निर्माण गरिएको पनि उनले बताए ।