
निरन्तर खुकुलो गर्दै लगिएको सामाजिक दूरीको मापदण्ड र प्राथमिकता प्राप्त जनसङ्ख्यामा खोप लगाउने कार्य शुरु भएसँगै २०७८ मा २.७ प्रतिशतले नेपालको अर्थतन्त्र वृद्घि हुने प्रक्षेपण गरिएको छ ।
विश्व बैंकका अनुसार पछिल्लो समय मनसुनमा देखिएको अनुकूलताका कारण कृषि उत्पादन पनि राम्रो हुने अपेक्षा छ । कोभिड–१९ पश्चात्को पुनर्लाभलाई तीव्रता दिन र नेपाललाई हरित, उत्थानशील र समावेशी विकासतर्फ अगाडि बढाउन निर्यात दरिलो क्षेत्र हुनसक्ने विश्व बैंकको पछिल्लो नेपाल विकास अपडेटमा उल्लेख छ । प्रतिवेदनका अनुसार कोभिड–१९ पछिको पर्यटन बजारसँग समाञ्जस्य हुनेगरी सुधार नगरेसम्म पर्यटन क्षेत्रको पुनरोत्थान पूर्ण रुपमा नहुन सक्छ ।
आयात र विप्रेषणमा सामान्य सुधार हुने र निर्यात यथास्थितिमा रहन सक्ने विश्लेषणका आधारमा आर्थिक वर्ष २०७८÷७९ मा चालु खाता घाटा घट्न गई कूल गार्हस्थ्य उत्पादन (जिडिपी) को १.२ प्रतिशत पुग्ने अनुमान गरिएको छ । राजश्व सङ्कलन लक्ष्यअनुसार हुन सक्ने सम्भावना न्यून भएको र आर्थिक राहतका उपाय, खोप कार्यक्रम र आयोजना पुनः सञ्चालनमा ल्याउन लाग्ने अतिरिक्त खर्चले आर्थिक वर्ष २०७८÷७९ को वित्तीय घाटा बढाएर सो आर्थिक वर्षको जिडिपीको सात प्रतिशत नजीक पु¥याउने देखिन्छ ।