
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भगवान् राम’ जन्मेको दाबी गरेको चितवन माडीको अयोध्यापुरीमा राम नवमीका दिन राम, सीता तथा लक्ष्मण र हनुमानको मूर्ति स्थापना हुने भएको छ ।
काठमाडौंबाट मूर्ति लिएर आउने माडीको टोलीलाई पशुपतिनाथ मन्दिर परिसरबाट प्रधानमन्त्री ओलीले नै बिदाइ गर्दैछन् । यी ४ मूर्ति हाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरमा राखिएका छन् ।
गत भानु जयन्तीका दिन ओलीले रामको जन्मभूमि भारत नभएर वीरगञ्जदेखि पश्चिम ठोरीतिर भएको दाबी गरेका थिए । उनको यो अभिव्यक्ति विवादमा परे पनि माडी अयोध्यापुरीमा रामधाम बनाउने योजना अगाडि बढेको थियो । रामधामको गुरुयोजना बन्दै गरेकाले तत्कालका लागि मूर्ति स्थापना गर्ने तयारी थालिएको हो ।
‘अहिले ४ वटा मूर्ति ल्याएर अस्थायी मन्दिरमा राख्छौं । २०/२२ महिनामा रामधामको गुरुयोजना तयार भएपछि त्यही योजनाअनुरूप भव्य राम मन्दिर निर्माण गरिनेछ,’ बाग्मती प्रदेश सांसद विजय सुवेदीले भने, ‘त्यही मुख्य मन्दिरमा यी मूर्ति राखेर प्राण प्रतिष्ठा हुनेछ ।’
उनका अनुसार वैशाख ७ गते पशुपतिनाथ परिसरस्थित राम मन्दिरबाट प्रधानमन्त्रीले बिदाइ गरेपछि मूर्तिहरू कलशयात्रा गर्दै भद्रकालीसम्म ल्याइने छ । त्यसपछि बग्गीमा राखेर नागढुंगासम्म पुर्याइने छ ।
नागढुंगाबाट करीब ५०० गाडीसहित मूर्ति देवघाट ल्याइने र त्यहाँबाट रामनवमीका दिन माडी लैजाने कार्यक्रम छ । कान्तिपुर दैनिकमा खबर छ ।