१७ असार २०८३, बुधबार

सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न राजस्व बढाउनुपर्ने सुझाव

बैशाख ३, २०७८
सुर्तीजन्य पदार्थ नियन्त्रण गर्न राजस्व बढाउनुपर्ने सुझाव
प्रतिकात्मक तस्वीर

नेपालमा सुर्तीजन्य पदार्थमा राजस्व वृद्धि गरी नियन्त्रण गर्नुपर्ने सुझाव दिइएको छ ।

स्वास्थ्य पत्रकार मञ्च र एक्सन नेपालद्वारा संयुक्त रूपमा शुक्रवार काठमाडौंमा आयोजित ‘सुर्तीजन्य पदार्थमा राजस्व वृद्धि र त्यसले जनस्वास्थ्यमा पार्ने प्रभाव’ विषयक अन्तक्र्रियाका सहभागी वक्ताले नेपालमा सस्तो सुर्तीजन्य पदार्थ बिक्री वितरण पाइएकाले राजस्व बढाएर सेवनमा नियन्त्रण गर्न सकिने बताएका छन् ।

राजस्व बढाइएका खण्डमा चुरोट, खैनी, सुर्ती र गुट्खा महंगो पर्ने र व्यक्तिको सेवनमा न्यूनीकरण गर्न सकिने बताइएको छ । सहभागीले नेपालमा अहिले ३० प्रतिशत सुर्तीजन्य पदार्थमा राजस्व लिने गरिएकामा ७० प्रतिशतसम्म पुर्‍याउनुपर्ने जोड दिए । 

कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेश ठगुन्नाले सुर्तीजन्य पदार्थमा राजस्व बढाएर चुरोट, खैनी, सुर्ती र गुट्खाको सेवनलाई  नियन्त्रण गर्न सकिने धारणा राखे । सुर्तीजन्य पदार्थ सस्तोमा पाइने भएकाले राजस्व बढाएर महंगो पर्ने भएपछि सेवन पनि कम हुने उनको भनाइ थियो । 

‘हामीकहाँ अन्य देशको तुलनामा सस्तोमा चुरोट पाइन्छ,’ उनले भने, ‘सस्तोमा पाइने भएकाले शोखका रूपमा पनि मानिसले चुरोट सेवन गर्दछ । राजस्व बढाएर महंगो बनाउने हो भने कम सेवन गर्दछन् ।’

उनले स्वास्थ्य तथा जनसंख्या र अर्थमन्त्री दुवैसँग राजस्व बढाउने विषयमा आफूले छलफल गर्ने समेत जानकारी दिए ।

नेपालमा दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा नै भन्दा सस्तो दरमा सुर्तीजन्य पदार्थ बिक्रीवितरण हुन्छ । 

स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले नेपालको कूल जनसंख्याको २८ प्रतिशत मानिसले धूमपान सेवन र दैनिक ८ करोड ४० लाख चुरोटका खिल्ली सेवन गर्ने गरेको तथा वार्षिक १ खर्ब ५३ अर्ब चुरोटको धुवाँमा खर्च हुने गरेको जानकारी दिए ।

आन्तरिक राजस्व विभागका उपमहानिर्देशक शम्भु मरासिनीले भने, ‘राजस्व बढाउने कुरा सकारात्मक हो । हामीलाई नि फाइदा हुन्छ ।’ उनका अनुसार कूल राजस्वको ५ प्रतिशत सुर्तीजन्य पदार्थबाट उठ्ने तथा वार्षिक १८ अर्ब रुपैयाँ राजस्व सुर्तीजन्य पर्दाथबाट संकलन हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्