२६ असार २०८३, शुक्रबार

नयाँ कोरोना ३ गुणा बढी फैलिने भएकाले लापरवाही नगर्न विज्ञको सुझाव

नयाँ कोरोना ३ गुणा बढी फैलिने भएकाले लापरवाही नगर्न विज्ञको सुझाव

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोरोना भाइरसको नयाँ प्रजाति ३ गुणा बढी गतिमा फैलिन सक्ने क्षमता भएकाले लापरवाही नगर्न सुझाव दिएका छन् ।

यूके भेरियन्ट प्रजातिको कोरोना यसअघिको भाइरसभन्दा तेब्बर गतिमा फैलिन सक्ने भएको बताउँदै डा. पुनले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आग्रह गरे । 

संवाद डबलीले शनिवार आयोजना गरेको कार्यक्रममा बोल्दै डा. पुनले भने, ‘यूके भेरियन्ट प्रजातिको कोरोना भाइरस पहिलेभन्दा तीब्र गतिमा फैलिन सक्ने क्षमता राख्छ । यसअघिका कमजोरीबाट शिक्षा लिँदै विशेष सतर्कता नपनाए नियन्त्रण बाहिर जान सक्छ ।’

उनले नयाँ प्रजातिले बेलायतमा पहिलोको भाइरस १ वर्षमा फैलिएजति ३ महिनामै पुगेको बताए । 

आफूहरूले केही समय पहिले काठमाडौं कोरोनाको नयाँ हटस्पट बन्नेभन्दा विरोध भएको सम्झँदै डा. पुनले यस्तै अवस्था रहे अवस्था गम्भीर हुने बताए । भारतबाट र तराईबाट काठमाडौं पसेका व्यक्तिहरू खुलमखुल्ला रूपमा हिँडडुल गरिरहनु खतराको घण्टी भएको बताउँदै डा. पुनले भीडभाडमा नजान आग्रह गरे ।

स्वास्थ्य मापदण्डको पालना नगरी काठमाडौं भित्रिनु नै नयाँ भाइरस प्रवेश गर्ने माध्यम बनेको पुनले बताए ।  कोरोना संक्रमितको उपचार खटिरहेका डा. पुनले कोरोनाको नयाँ प्रजातिले बालबालिका बढी जोखिममा रहेको बताए ।

शैक्षिक संस्था नयाँ प्रजातिको कोरोना फैलिने माध्यम बन्न खतरा रहेको बताउँदै उनले यसअघिका कमजोरीबाट शिक्षा लिँदै बालबालिकालाई नयाँ प्रजातिबाट जोगाउनु चुनौती रहेको बताए । 

‘नयाँ प्रजातिको कोरोना तीब्ररूपमा फैलिरहेको छ । अहिले देशभर भौतिकरूपमा शैक्षिक संस्था सञ्चालन भइरहेका छन् । स्वास्थ्य मापदण्ड पालना बालबालिकामा निकै कम देखिन्छ । विद्यालय कोरोना फैलिन माध्यम बन्ने खतरा देखिन्छ,’ डा. पुनले भने ।

पुनले बालरोग विज्ञ र अस्पताल पनि कम भएको बताउँदै विद्यालयबाट कोरोना परिवार हुँदै समुदायमा पुग्ने खतरा रहेको बताए । बालबालिकालाई बचाउनेबारे सोच्ने बेला आइसकेको भन्दै पुनले अभिभावकलाई गम्भीर बन्नु आग्रह गरे । 

डा. पुनले विद्यालय केही दिनको लागि बन्द गर्न सुझाव समेत दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्