स्थानीय पूर्वाधार विकास साझेदारीको बजेटले २ वडा जोड्ने पक्की पुल निर्माण गरिएको छ ।
तनहुँको व्यास नगरपालिका–१० र ११ को भर्याङ्दी जोड्ने खोलामा चालू आर्थिक वर्षको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको बजेटले पक्की मोटरेबल पुल निर्माण गरिएको हो ।
१० मिटर लामो पुल निर्माणका लागि तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठले १० लाख रुपैयाँ बजेट विनियोजन गरेका थिए ।
उक्त रकमबाट उपभोक्ता समितिले पुल निर्माण गरी १ किलोमिटर सडकमा ग्राभेलसमेत गरेका छन् । उक्त पुलको शनिवार उद्घाटन गर्दै सांसद श्रेष्ठले थोरै बजेटमा पनि राम्रो पुल निर्माण सम्पन्न भएको बताए । पुल निर्माण समितिका अध्यक्ष गम्बरसिंह गुरुङले उपभोक्ता समितिले बोलपत्र प्रक्रिया विना नै उपभोक्ताको प्रत्यक्ष निगरानी र संलग्नतामा समयमै काम सम्पन्न गरेको बताए ।