
रुसले कृष्णसागरमा नाकाबन्दी गरेर युक्रेनी तटहरूमा पहुँच रोक्ने योजना बनाएको भन्दै अमेरिकाले निन्दा गरेको छ ।
रुसको सरकारी सञ्चारमाध्यमले मस्को कृष्णसागरका केही भागमा विदेशी सेना र जहाजहरू रोक्न खोजिरहेको खबर दिएका छन् ।
त्यस्तो स्थितिमा आजोभ सागरमा युक्रेनी तटहरूमा पहुँच बन्द हुनेछन् ।
‘मस्कोले युक्रेनलाई अवमूल्यन गर्ने तथा अस्थिर बनाउने अभियान चलाइरहेकोमा यो अर्को उत्तेजक गतिविधि हो,’ अमेरिकाको परराष्ट्र मन्त्रालयका प्रवक्ता नेड प्राइसले सोमवार बयान जारी गरेर बताए ।
‘रुसले क्राइमिया र युक्रेनका सीमाहरूमा सेना भेला पारेको विश्वसनीय समाचारहरू आइरहेकोमा यस्तो घटना हुनु चिन्ताजनक छ,’ उनले थपे ।
भ्लादिमिर पुटिनले युक्रेन सीमा र क्राइमियामा एक लाखभन्दा बढी सैनिक तैनाथ गरेका छन् र अहिले जलक्षेत्रमा नाकाबन्दी समेत गरेका छन् ।
युक्रेनका जल संरचनामा रुसले आक्रमण गरेर पानीको अभाव गराइदिने हो भनी युक्रेनीहरू डराइरहेका छन् ।