२६ असार २०८३, शुक्रबार

सुदूरपश्चिम प्रदेश सभाको सातौं अधिवेशन अन्त्य

बैशाख ७, २०७८
सुदूरपश्चिम प्रदेश सभाको सातौं अधिवेशन अन्त्य

सुदूरपश्चिम प्रदेश सभाको सातौं अधिवेशन मंगलवार राति १२ बजेदेखि अन्त्य हुँदैछ ।

प्रदेश सभाको मंगलवारको बैठकमा सभामुख अर्जुनबहादुर थापाले सातौं अधिवेशन अन्त्य गरिएको सम्बन्धी प्रदेश प्रमुख शर्मिलाकुमारी पन्तको कार्यालयबाट प्राप्त पत्र पढेर सुनाए ।

संवैधानिक व्यवस्था अनुसार प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेको हो ।
  
गत माघ २६ गते शुरू भएको यो अधिवेशनअन्तर्गत २० दिनमा ३१ पटक बसेको बैठकको कारवाही १७ घण्टा १८ मिनेट सञ्चालन भएको थियो । सातौं अधिवेशनमा प्रदेश बालबालिकासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेशको बीउविजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेश दुग्ध विकास बोर्डको स्थापना गर्न बनेको विधेयक पारित भएको छ । 
 
प्रदेश लोकसेवा आयोग ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेशको प्रदेश आर्थिक कार्यविधि ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र सुदूरपश्चिम प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पनि पारित भएको छ । 
   
दलित सशक्तीकरण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, सुदूरपश्चिम प्रदेशको पर्यटनलगायत विधेयक विचारधीन रहेका छन् । अधिवेशनको अन्तिम दिन आजको बैठकमा ‘सुदूरपश्चिम प्रदेशको राष्ट्रिय वन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ । 
  
उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टको तर्फबाट सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले बैठकमा विधेयक पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए । यसअघि विधेयकमाथि भएको छलफलमा प्रदेशसभा सदस्य अमबहादुर साउद, वीरमान चौधरी, गोविन्दराज बोहरा र मालामतिकुमारी रानाथारुले भाग लिएका थिए ।

salt training

कमेन्ट गर्नुहोस्