भारतको मध्य प्रदेशमा कोरोना रोगीहरूका लागि शय्याको अभावले अहिले पनि समस्या ल्याइरहेको छ । शय्याको प्रतीक्षामा अस्पतालबाहिर रोगीहरू तडपिरहेका छन् र पुकार सुन्ने कोही छैन ।
त्यहाँको रीवा जिल्लामा बीएसएफका एक जवान आफ्नी पत्नीलाई लिएर अस्पतालहरू चहारिरहेका छन् । पत्नी कोरोना संक्रमित छिन् । उपचारका लागि शय्या उपलब्ध छैन । मिडियाका मानिसलाई देखेर जवानले रुँदै आफ्नो पीडा व्यक्त गरे ।
उनले भने, ‘म आठ घन्टादेखि पत्नीलाई कारमा राखेर अस्पतालहरू धाइरहेको छु । जुन अस्पताल जाँदा पनि अर्कोमा जाऊ भन्छन् । पत्नीलाई कहाँ भर्ना गर्ने ?’
पछि मिडियाकर्मीले भनेपछि जवानकी पत्नीलाई सञ्जय गान्धी अस्पतालमा भर्ना गरियो ।
ती जवानको तैनाथी त्रिपुरामा छ । चार दिनअघि उनी छुट्टीमा घर आएका थिए । उनी आफूले खोप लगाइसकेका छन् ।
पत्नीलाई ज्वरो आएपछि देखाउँदा कोरोना पोजिटिभ पाइयो ।
पत्नीलाई भर्ना गर्न नपाएर जवान लाचार बनेका थिए । क्यामरा देखेपछि उनी रुन थाले । रुँदै उनले भने, ‘बिरामी पत्नीलाई लिएर यताउता गइरहेको छु । कहाँ उपचार गराऊँ ? म देशका लागि मर्न तयार छु तर कोरोनाबाट पत्नीलाई कसले बचाउने ?’
कोरोनाको दोस्रो लहरले भारतको सार्वजनिक स्वास्थ्य प्रणालीको कमीकमजोरी उजागर गरिदिएको छ ।