
जनता समाजवादी पार्टी (जसपा) नेपालले बजेटमा सबै निर्वाचन क्षेत्रलाई समानुपातिक ढंगले बजेटको विनियोजन गर्न अर्थमन्त्री विष्णु पौडेललाई सुझाव दिएका छन् ।
पहुँचवाला सांसदको निर्वाचन क्षेत्रमा बजेट खन्याउने विगतको परम्परा उल्ट्याउन सांसदहरूले सुझाव दिए ।
अर्थ मन्त्रालयमा बुधवार बजेट बारेको छलफलमा जसपा सांसदहरूले तराईका जिल्लामा सदरमुकाम जोड्ने सडक कालोपत्रे गर्ने, हुलाकी राजमार्गको बाँकी काम पूरा गर्ने तथा किसानलाई बिउ मलमा सहुलियत गर्ने कुरा बजेटमा ल्याउन सुझाव दिए ।
‘मन्त्रीहरूले आफ्नो निर्वाचन क्षेत्रमा बजेट खन्याउने विगतको परम्परा नदोहोरियोस् भनेर सुझाव दिएका छौं, सबै निर्वाचन क्षेत्रलाई समानुपातिक बजेटको व्यवस्था होस् भनेर माग गरेका छौं,’ अर्थमन्त्रीलाई दिइएको सुझावबारे सांसद प्रदीप यादवले लोकान्तरसँग भने ।
सांसदले कोरोनाको संक्रमण फेरि बढ्दै गएकोमा अस्पतालको संरचना, कोभिड प्रभावितको लागि आर्थिक सहायता प्याकेज लगायतको कुरा उठाएका थिए ।
बजेट तयारीको सम्बन्धमा अर्थमन्त्री पौडेलले नियमितजसो छलफल गरिरहेका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका सांसदसँग सुझाव लिइसकेका छन् ।
अर्थमन्त्री पौडेलले मंगलवार पूर्व अर्थमन्त्रीहरूसँग परामर्श गरेका थिए ।