
विषाक्त सिनो खाँदा बुधवार पश्चिम नवलपरासीमा ७० भन्दा बढी गिद्ध मृत फेला परेका छन् ।
रामग्राम नगरपालिका–४ जितपुरमा गिद्धहरू मरेको अवस्थामा बुधवार फेला परेका हुन् । गिद्धलाई प्रकृतिको कुचिकारको रूपमा चिनिन्छ ।
पछिल्लो समय नेपालमा गाईवस्तुलाई खुवाइने विभिन्न प्रकारका औषधिले गिद्ध मरेर नेपालमा गिद्धको संख्या ह्वात्तै घटेको छ ।
गिद्ध कसरी मरे भन्नेबारे जानकारी हुन सकेको छैन । गाउँको पोखरी नजिक खेतहरूमा मरेको अवस्थामा छरिएर रहेका गिद्धहरूको व्यवस्थापन हुन नसक्दा दुर्गन्ध समेत फैलिन थालेको छ । पछिल्लो समय गिद्धको संरक्षण अभाव भएको छ ।
गिद्धहरू रहेको स्थान नजिक २ वटा कुकुरहरू मरेको अवस्थामा भेटिएका छन् । डोरीले बाँधेर फालेको अवस्थामा रहेका कुकुरलाई विष खुवाएर मारेको हुनसक्ने र कुकुरको मासु खाएका कारण गिद्धहरू मरेको हुनसक्ने आंशका स्थानीयको छ ।
यसअघि गाउँमा यतिधेरै गिद्धहरू नदेखेको र आहारा खोज्ने क्रममा आएको हुनसक्ने स्थानीय पवित्रा हरिजनले बताइन् ।
गिद्धहरू कसरी मरे भन्नेबारे अनुसन्धान गर्न भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र रुपन्देहीमा नमूना पठाइएको पशु सेवा विज्ञ केन्द्र सम्पर्क कार्यालय परासीका प्रमुख डा. भरत काफ्लेले बताए ।
अनुसन्धानपछि मात्र कारण थाहा हुने उनले जानकारी दिए । दुर्गन्ध फैलिन नदिन नगरपालिकाले गिद्धलाई खाल्डोमा पुर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेश पन्थीले बताए ।
गिद्ध संरक्षणका लागि पूर्वी नवलपरासीको कावासोती र रुपन्देहीमा जटायु रेस्टुरेन्ट सञ्चालनमा ल्याइएको छ ।