०१ असार २०८३, सोमबार

धरहरामा राखियो ३३० किलोको गजुर

बैशाख ८, २०७८
धरहरामा राखियो ३३० किलोको गजुर

पुनर्निर्माण सम्पन्न भएको ऐतिहासिक धरहरामा बुधवार गजुर राखिएको छ ।

नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तिक वाचनसहित बिहान ८ बजेको शुभ साइतमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवाली सहितको सहभागितामा गजुर राखिएको हो । 
 
गजुर ३३० किलोको हो । गजुर तामाबाट बनेको छ भने बाहिरी आवरण सुनले लेपन गरिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले जानकारी दिए ।

‘धरहराको टुप्पामा ३३० किलोको सुनको जलप लगाएको गजुर राखिएको छ, त्यसमा ९५ तोला ३ लाल सुन छ,’ उनले भने ।

उनका अनुसार टुप्पामा गजुर राख्नुअघि २१ तलामा प्राधिकरणका कार्यकारी अधिकृत सुशील ज्ञवालीले शिवलिङ्ग प्रतिस्थापन गरी र नयाँ गजुरको पूजा गरेका थिए ।

अहिले ऐतिहासिक धरहरा टावरको पुनर्निर्माण कार्य पूरा भएसँगै रंग लगाउने काम भइरहेको छ । वैशाख ११ गते उद्घाटन गर्ने तयारी स्वरूप अहिले रंग लगाइएको हो । वैशाख ११ गते ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीबाट उद्घाटन गर्ने तयारी छ ।

भूकम्पले भत्काएको संरचना पुनर्निर्माण भए पनि अन्य केही संरचना निर्माणको काम सम्पन्न नभएकाले तत्काल सर्वसाधारणका लागि खुला हुने छैन । त्यसका लागि आगामी मंसिरसम्मको समय कुर्नुपर्नेछ । 

विक्रम संवत् २०७२ सालको विनाशकारी भूकम्पबाट धरहरालगायत ऐतिहासिक सम्पदा ध्वस्त भएका थिए । भूकम्प गएको ३ वर्षपछि मात्रै यस सम्पदाको पुनर्निर्माणको कामले गति लिएको हो ।

गोरखा भूकम्पले ढलेको धरहरा पुनर्निर्माणको प्रधानमन्त्री ओलीले नै विधिवत्रुपमा २०७५ पुस १२ गते उद्घाटन गरेका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्