काठमाडौं, १४ जेठ – नेपालमा चलचित्र चलोस् या नचलोस्, तर चलचित्र निर्माणको सदावहार बाढी भने रोकिएको छैन । अर्थ मन्त्रालयले सार्वजनिक गरेको एक तथ्यांकअनुसार विगत पाँच वर्षमा ७ सय ३२ चलचित्रले निर्माणका लागि इजाजत पाएका छन् ।
उक्त तथ्यांक अनुसार आर्थिक वर्ष (आव) ०७३/७४ को प्रथम आठ महिनामामात्र १ सय १६ चलचित्रले निर्माणको इजाजत पाएका छन् ।

सेल्युलाइड तथा डिजिटल चलचित्र निर्माणका लागि दिइएको इजाजतबाहेक विज्ञापन चलचित्र निर्माणका लागि पछिल्ला पाँच वर्षमा १ सम ९७ विज्ञापन वृतचित्र निर्माणको इजाजत पाएका छन् ।
सूचना तथा सञ्चार मन्त्रालयका अनुसार वृत्तचित्र निर्माणमा भने नेपालीको रुची खासै देखिएको छैन । गत पाँच वर्षमा ७९ वृतचित्रले मात्र इजाजत पाएका छन् । कथानक चलचित्रको हिसाबमा वृत्तचित्र निर्माणमा नेपालीको रुची कम देखिन्छ ।
विगत पाँच वर्षमा नेपाली चलचित्रको विदेशमा प्रदर्शनीका लागि पनि न्यून चलचित्र सिफारिसमा परेका छन् । पाँच वर्षको तुलनात्मक अध्ययनका आधारमा वर्ष ०७१ मा भने बढीमा ८ चलचित्रले विदेश प्रदर्शनका लागि सिफारिस पाएको देखिन्छ । यद्यपि आव २०७३/७४ को तथ्याङ्क उक्त प्रतिवेदनमा उल्लेख छैन ।
पछिल्लो समय नेपाली दर्शकको चलचित्रप्रतिको झुकाव भने राम्रो छ । पछिल्लो पाँच वर्षमा ४३ हाइभिजन तथा सेल्यूलाइड नयाँ हलले चलचित्र प्रदर्शनको इजाजत पाएका छन् । यसले नेपाली चलचित्रका दर्शक बढ्दो क्रममा रहेको देखाउँछ । चलचित्रको व्यापार पनि स्थूल बन्दै गएको छ ।
विदेशी चलचित्र भने नेपालमा ठूलो संख्यामा प्रदर्शनमा आइरहेको देखिएको छ । विगत पाँच वर्षमा ४ सय ३१ चलचित्रले जाँचका लागि केन्द्रीय जाँच समितिमा सिफारिस भएको तथ्याङ्कमा उल्लेख छ । जुन नेपाली चलचित्र विदेशमा प्रदर्शन भएको हिसाबमा दश गुणा धेरै हो । तर, पछिल्लो पाँच वर्षमा ४ सय ५३ स्वदेशी चलचित्रले जाँचका लागि सिफारिस गरेको छ । यसरी हेर्दा नेपालमा नेपाली चलचित्र र विदेशी चलचित्र लगभग एउटै अनुपातमा प्रदर्शनमा आएका छन् ।
नेपाली चलचित्रकै हाराहारीमा विदेशी चलचित्र नेपालमा प्रदर्शनमा आएपनि जम्मा पाँच वर्षयता जम्मा २० स्वदेशी चलचित्रले विदेश प्रदर्शनका लागि सिफारिस पाएका छन् । यस हिसाबले नेपाली चलचित्रको विदेश प्रदर्शनको तुलनामा विदेशी चलचित्र १० गुणा धेरै नेपालमा प्रदर्शन भइरहेका छन् ।
नेपाली चलचित्रले विदेशमा आफ्नो भविष्य खोज्न नसकेको तथ्याङ्कले स्पष्ट बताउँछ ।
साथै प्रतिवेदनमा नेपाललाई एक आकर्षक अन्तर्राष्ट्रिय चलचित्र केन्द्रको विकास गर्न दोलखाको लाकुरी डाँडामा चलचित्र नगरी निर्माण गर्न लागेको पनि सर्वेक्षणमा उल्लेख छ । करिब ७६ हेक्टर जग्गामा सुविधा सम्पन्न चलचित्र नगरी निर्माण गर्नका लागि जग्गा लिइसकेको छ ।
साथै चलचित्र भवनहरुमा इ–टिकेटिङको व्यवस्थासहित बक्स अफिसको समेत निर्माण हुन लागेको उल्लेख छ ।
विस्तृतमा यो तालिका हेर्नुहोस्ः
