२२ जेठ २०८३, शुक्रबार

द्रुतमार्गको दोस्रो चरणको काम निजगढबाट हुने

बैशाख ९, २०७८
द्रुतमार्गको दोस्रो चरणको काम निजगढबाट हुने
प्रतिकात्मक तस्वीर

कम समय र दूरीमा तराईलाई संघीय राजधानी काठमाडौंसँग जोड्न निर्माणाधीन काठमाडौं–तराई/मधेश जोड्ने द्रुुतमार्गको दोस्रो चरणको कार्य निजगढ तर्फबाट शुरू हुने भएको छ ।

द्रुतमार्गको जिरो किलोमिटर रहेको ललितपुरको खोकनामा जग्गाको मुआब्जा लगायतका विवादको समाधान अझै हुन नसकेपछि द्रुतमार्गको अन्तिम विन्दु निजगढतर्फबाट नै द्रुतमार्गको निर्माण काम शुरू गरिने तयारी गरिएको निर्माण व्यवस्थापनको जिम्मा पाएको नेपाली सेनाले जनाएको छ ।

सेनाका अनुसार आर्थिक वर्ष ०७८/७९ देखि द्रुतमार्गको निर्माण कार्य निजगढतर्फबाट नै शुरू गरिने तयारी भइरहेको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले ललितपुरको खोकनामा जग्गाको मुआब्जा लगायत सम्बन्धी समस्या अझै सुल्झिन नसकेको अवस्थामा काठमाडौंतर्फबाट कामलाई अगाडि बढाउँदा विभिन्न समस्या देखिएको तर निजगढ तर्फबाट कामलाई अगाडि बढाउन कुनै पनि समस्या नरहेकाले त्यसतर्फबाट नै काम अगाडि बढाउन तयारी शुरू गरिएको जानकारी दिए ।

खोकनाको जग्गा विवादका कारण आयोजनाको अन्य ठाउँको काम अवरोध नहुने प्रवक्ता पौडेलले स्पष्ट पारे । द्रुतमार्ग निर्माणले यहाँका सांस्कृतिक सम्पदा समेत मासिने खोकनावासीको आरोप छ ।

द्रुतमार्ग निर्माणका लागि खोकनाबाहेक अरू कुनै पनि ठाउँमा जग्गासम्बन्धी विवाद रहेको छैन ।

निजगढतर्फबाट काम शुरू गर्ने तर खोकनातिरको विवाद पनि सल्टाउँदै जाने नीति सेनाको छ । खोकना विवादकै कारण द्रुतमार्गको काम अपेक्षित रूपमा अगाडि बढ्न नसकेको सेनाको निष्कर्ष छ । द्रुुतमार्गको सुरुङमार्ग र ‘हाई ब्रिज’ निर्माणसँगै निजगढबाट काठमाडौंतर्फको २२ किलोमिटर खण्डको काम शुरू गरिने उनले स्पष्ट पारे ।

खोकना क्षेत्रमा अझै करीब साढे ४०० रोपनी जग्गाको मुआब्जा वितरण गर्न बाँकी नै छ । सम्बन्धित निकायहरूले आवश्यक सबै प्रक्रिया पूरा भई जग्गाको मुआब्जा दिने निर्णय यसअघि नै गरे पनि मुआब्जा कम भएको भन्दै जग्गाधनीले मुआब्जा लिन अस्वीकार गर्दै आएका छन् ।

राष्ट्रिय योजना आयोगको उपाध्यक्षको संयोजकत्वमा समिति बनाएर काम अगाडि बढाइए पनि खोकनाको मुआब्जा विवाद हल हुन सकेको छैन ।

द्रुतमार्गको ४२ किलोमिटर सडक कालोपत्रे गर्नका लागि तयारी अवस्थामा रहेको सैनिक प्रवक्ता पौडेलले जानकारी दिए । कालोपत्रेका लागि तयार भएको सडकमा अहिले पनि चारपांग्रे सवारीसाधन सजिलै गुडाउन सकिन्छ । द्रुतमार्गको कुल लम्बाइ ७२.५ किलोमिटर रहेको छ । सेनाले अहिले ११ वटा कलस्टर बनाएर प्रत्येक कलस्टरको निर्माण कार्य भइरहेको छ । गोरखापत्र दैनिकमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्