
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण राष्ट्रवादी, परिवर्तनकामी र अग्रगामी शक्ति एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।
लेनिन जयन्ती तथा नेपाल कम्युनिस्ट पार्टी स्थापना दिवसका अवसरमा बिहीवार जारी गरेको शुभकामना सन्देशमा प्रचण्डले देशको आर्थिक विकास र संविधानको रक्षाका लागि प्रतिगमनविरोधी शक्ति एकजुट हुनुपर्ने बताएका हुन् ।
कम्युनिस्ट आन्दोलनमा चल्ने अन्तरसंघर्षले विभिन्न समयमा पार्टीभित्रका विकृति, विसंगतिलाई संघर्षको माध्यमबाट किनारा लगाउने गरेको तथा नेपाल कम्युनिष्ट पार्टी आन्तरिक पार्टी जीवनका विभिन्न प्रवृत्तिविरुद्ध लड्दै र खारिँदै सिङ्गो राष्ट्रलाई समाजवादका लक्ष्यमा लामबद्ध गराउन सफल भएको उनले सन्देशमा उल्लेख गरेका छन् ।