
नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षका सांसदहरूले पार्टी अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले सोधेको स्पष्टीकरणको जवाफ बुझाएका छन् ।
बिहीवार बिहान भएको छलफलपछि संसदीय दलको कार्यालय सिंहदरबारमा लगेर उनीहरूले स्पष्टीकरण पेश गरेका हुन् ।
एमाले सांसद एवं केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेले आफूहरूले स्पष्टीकरण पेश गरेको जानकारी दिए ।
पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेको आरोप लगाउँदै ओलीले वैशाख ६ गतेको मिति राखेर सांसदहरूसँग छुट्टा–छुट्टै स्पष्टीकरण सोधेका थिए ।
‘...तपाईंले एमालेको विधानमा उल्लेखित व्यवस्थाविपरीत अनुशासन उल्लंघन गर्नुभएको देखिएकाले तपाईंलाई किन कारवाही नगर्ने ? साथै राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १ (ग) बमोजिम तपाईंले छुट्टै राजनीतिक दल गठन गरेकोमा किन कारवाही नगर्ने ? र तपाईंलाई संघीय संसद्को सदस्य पदबाट किन नहटाउने ? आधार र कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन गर्दछु,’ सांसदहरूलाई सोधिएको स्पष्टीकरण पत्रको व्यहोरामा भनिएको छ । आरोपको खण्डनसहित जवाफ पठाएको सांसद पाण्डेले बताए ।
‘पार्टीको सर्वोच्च संस्था राष्ट्रिय महाधिवेशनको मार्गनिर्देशन तथा त्यसबाट पारित विधानको रक्षाका लागि सक्रिय हुँदा (अर्को राजनीतिक दल खोलेको जस्तो) निराधार र हास्यास्पद तर्क गरी जनताको मतबाट निर्वाचित प्रतिनिधि सभाको पद नै समाप्त गरिदिने पत्र लेख्नु नेपालको संविधान, कानून र एमालेको विधानविपरीत छ,’ एमाले सांसद सुरेन्द्र पाण्डेले लेखेको जवाफमा भनिएको छ ।
सांसद पदबाट हटाउने तयारीविरुद्ध नेपाल पक्षले सर्वोच्च अदालतमा रिट दर्ता गर्दैछ । हिजो नै निवेदन दिइएको भएपनि ढिला हुन गएकाले रिट आज दर्ता हुने एक नेताले जानकारी दिए ।
पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरूप नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बिहीवार पनि छलफल हुँदैछ ।
लामो संवादहीनता तोड्दै अध्यक्ष ओली र नेता नेपालबीच बुधवार झण्डै दुई घण्टा छलफल भएको थियो ।