झ्यालबाट धरहरा नियालेर तिक्तता मेटाउने प्रयासमा ओली-नेपाल वार्ता

पार्टीभित्र देखिएको विवाद समाधानको प्रयास स्वरूप नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच दोस्रो दिनको छलफल जारी छ ।

लामो समयको संवादहीनता तोड्दै बुधवार भेटघाट भएकै स्थान होटल मेरियटमा अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच बिहीवार पनि भेटवार्ता भइरहेको हो ।


Advertisement

दिउँसो करीब सवा २ बजे होटल प्रवेश गरेका दुई नेताले झ्यालबाट नवनिर्मित धरहराको दृश्यावलोकन समेत गरेका थिए ।

बुधवारको छलफललाई ‘आइसब्रेक’को संज्ञा दिएका एमालेका दोस्रो तहका नेताहरू बिहीवारको छलफलले कुनै निकास दिने विश्वासमा छन् ।

ओलीसँग भेट्नुअघि नेता नेपालले आफूपक्षीय नेताहरूसँग छलफल गरेका थिए । त्यसक्रममा नेता नेपालले पार्टी एकताअघिकै स्थितिमा फर्कनुपर्ने आफ्नो बटमलाइन ओलीसमक्ष राख्ने बताएका थिए ।

कर्णाली प्रदेशमा एमाले सांसदले फ्लोर क्रश गरेर माओवादीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई भोट हालेपछि एमालेभित्रको विवाद उत्कर्षमा पुगेको छ । 

पार्टीमा गुटगत क्रियाकलाप गरेको भन्दै अध्यक्ष ओलीले नेपाल पक्षका २७ जना सांसदलाई सोधेको तीन दिने स्पष्टीकरणको म्याद बिहीवार सकिँदैछ ।

सांसदहरूले बिहीवार स्पष्टीकरण बुझाएका छन् ।

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शुक्रवारका लागि बोलाइएको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्