स्वयम्भूका १७ घर एकीकरणपछि पुननिर्माण सम्पन्न : १३ गते हस्तान्तरण हुने

स्वयम्भू स्तूप परिसरका १७ वटा घर एकीकरण गरेर पुनःनिर्माण सम्पन्न गरिएको छ ।

०७२ सालको भूकम्पले जीर्ण भएका वुद्धाचार्य परिवारका ती घर बैशाख १३ गते घरधनीलाई हस्तान्तरण गर्ने कार्यक्रम छ ।


Advertisement

पुननिर्माण बारे जानकारी दिन आज आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा स्वयम्भू पुननिर्माण समिति एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलले पुननिर्माणका बारेमा जानकारी दिँदै भने, ‘स्वयम्भूका पुजारीका रुपमा सदियौँदेखि बस्दै आएका वुद्धाचार्य परिवारका १७ घरसँगै कर्मराज महाविहार (गुम्बा) को पुननिर्माण २ बर्षमा सकिएको छ । घरहरुलाई एकीकरण गरेर (हाउस पुलिङ् प्रणालीबाट) सञ्चालन गरिएको काठमाडौं महानगरको यो पहिलो योजना हो । पुरातत्व विभागसँगको समन्वयमा घरलाई एउटै शैलीमा तयार पारिएको छ ।’

डंगोलकाअनुसार यी घरहरुको किनबेच हुँदैन । केवल पुस्ताहरुमा हक हस्तान्तरण मात्र हुन्छ । यी १७ घरलाई एकीकरण गरेर महानगरले एउटै भवनको नक्सा स्वीकृत गरेको थियो

यी संरचनाको पुननिर्माण गर्न महानगरको कार्यपालिका बैठकले प्रवक्ता एवं वडा १५ का अध्यक्ष ईश्वरमान डंगोलको अध्यक्षतामा ‘स्वयम्भू पुननिर्माण समिति’ गठन गरेको थियो । यही समितिले पुननिर्माणको काम सम्पन्न गरेको हो ।   

वडा १५ का सदस्य आनन्द गौत्तमकाअनुसार पुननिर्माणका लागि करीव १७ करोड लागत अनुमान गरिएको थियो । जसमध्ये १३ करोड ५२ लाख रुपैयाँमा पुननिर्माण सम्पन्न हुने चरणमा पुगेको हो । यो लागतमध्ये ३० प्रतिशत घरधनी र बाँकी १७ औँ अवतारी गुरु कर्मपा थिन्ले थाय दोर्जेले व्यहोर्नु भएको हो । यसका लागि वडा र कर्मराज महाविहारविच सम्झौता गरिएको थियो ।  

पुननिर्माणको काम २०७५ पुस ३० गते थालनी गरिएको थियो । 

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्