
गोरखाको बारपाक केन्द्रविन्दु भएको ६ वर्षअघि भूकम्पले राजधानीको सुन्धारामा रहेको धरहरा गल्र्याम गुर्लुम ढल्यो । शनिवारको दिन भएकाले धेरै मानिस धरहरा चढ्न त्यस वरपर जम्मा भएका थिए ।
कति त माथि नै थिए । तीमध्ये ६० जनाले जीवन गुमाए । सयौं मानिस घाइते भए । उपत्यकाको एक महत्त्वपूर्ण ऐतिहासिकस्थल भूकम्पले भत्किएपछि पुनर्निर्माण गर्न ६ वर्ष लाग्यो । ६ वर्षमा भत्किएको धरहरा यथावत् राखी नजिकै अर्को धरहरा बनेको छ ।
विक्रम संवत् २०७४ कात्तिक २७ गते मन्त्रिपरिषद् बैठकले धरहरा पुनर्निर्माणको जिम्मेवारी राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई दिने निर्णय गरेको थियो । विक्रम संवत् २०७५ असोज १४ गते प्राधिकरणले धरहरा पुनर्निर्माण शुरू गरेको थियो ।
पहिलोपटक प्रधानमन्त्री बनेका बेला २०७२ फागुन ४ गते केपी शर्मा ओलीले ‘मेरो धरहरा मै बनाउँछु’ अभियान शुरू गरेका थिए ।
भूकम्पले भत्किएपछि धरहरा क्षेत्र विस्तार भएको छ । अब धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ । यस क्षेत्रमा एउटा अर्धभूमिगतसहित ४ तल्ले भूकम्प र टक्सारसम्बन्धी संग्रहालय निर्माण भइरहेको छ । यहाँ ‘फूड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’ पनि बन्ने प्राधिकरणले जनाएको छ ।
धरहरा क्षेत्रमा विश्रामस्थल सहितको अत्यन्तै मनमोहक बगैंचा तथा संगीतमय फोहरा समेत बन्नेछ । जसले आन्तरिक एवं बाह्य पर्यटकलाई आकर्षित गर्नेछ ।
धरहराको निर्माण सकिए पनि त्यस क्षेत्रमा निर्माण हुने अन्य संरचनाको काम भइरहेको प्राधिकरणका सचिव मणिराम गेलालले जानकारी दिए । धरहराको शनिवार बिहान ११ः०० बजे प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने कार्यक्रम रहेको जानकारी पनि उनले दिए ।
धरहरा क्षेत्रमा ३ तले भूमिगत पार्किङको व्यवस्था गरिने छ । जहाँ ४०० गाडी र ७०० मोटरसाइकल पार्किङ गर्न सकिने छ । भीमसेन थापाले विक्रम संवत् १८८२ सालमा बनाएको धरहरा (भीमसेन स्तम्भ) लाई सिसाले छोपेर संरक्षण गरी राखिएको छ । धरहरा क्षेत्रमा रहेको ऐतिहासिक सुन्धाराको पनि संरक्षण हुन लागेको छ ।
सुन्धारामा २४ सै घण्टा पानी आउने व्यवस्था मिलाउन लागिएको छ । धरहरा र संग्रहालय जोड्ने आकर्षक आकाशे पुल पनि निर्माण गरिने योजना रहेको सचिव गेलालले सुनाए ।
धरहरा बाहिरबाट हेर्दा ११ तलाको देखिए पनि भित्र जमिनमुनि २ तलाको भूमिगत संरचना रहने छ । जमिनमाथि भूइँतलासहित २३ तला हुनेछ । समग्रमा धरहरा २५ तलाको हुने प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले बताए । धरहरासहित यस क्षेत्रमा निर्माण हुने संरचनाको कूल लागत ३ अर्ब ४८ करोड रहेको जानकारी पनि उनले दिए ।
जमिनमाथिबाट गजुरसहित धरहराको उचाइ ८३.८५ मिटर छ । भूमिगत तलासहित ९२.२५ मिटर हुन्छ । धरहराभित्र २ लिफ्ट राखिएको छ । लिफ्टमा १ पटकमा १० जनाले यात्रा गर्न सक्ने छन् । लिफ्टका कारण वृद्धवृद्धा तथा अपाङ्गता भएकालाई धरहरा चढ्न सहज हुनेछ । धरहरामा फलामको भर्याङ समेत जडान गरिएको छ ।
धरहराबाट उपत्यकाको दृश्यावलोकनका लागि २० औं तला बाहिर २.५ मिटर चौडाइको बार्दलीसमेत बनाइएको छ । बाइसौं तलामा पुरानो धरहराबाट झिकी सुरक्षित राखिएको शिवलिङ्ग स्थापना गरिएको छ । धरहरामुनिको २ तले भूमिगत संरचनामा २ वटा ‘विद्युतीय स्वचालित भर्याङ’बाट तलमाथि गर्न सकिने गरी संरचना तयार पारिएको छ ।
विक्रम संवत् १८८२ सालमा महारानी ललिता त्रिपुरासुन्दरीको आज्ञामा नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाले ६१.८८ मिटर अग्लो ११ तले धरहरा बनाउन लगाएको इतिहास छ । विक्रम संवत् १९१३ सालमा बज्र (चट्याङ) ले भत्केपछि विक्रम संवत् १९२३ सालमा धरहराको जीर्णोद्धार गरिएको थियो ।
विक्रम संवत् १९९० माघ २ गतेको भूकम्पले भत्किएको धरहरा २ वर्षपछि तत्कालीन प्रधानमन्त्री जुद्धशमशेरको शासनकालमा पुनर्निर्माण गरिएको थियो । पुनर्निर्माणका क्रममा ११ तले धरहरालाई ९ तलामा सीमित गरिएको थियो ।
यो धरहराभन्दा अघि विक्रम संवत् १८८१ सालमा थापाले नै लगनटोलमा आफ्नो नाममा धरहरा निर्माण गरेका थिए । त्यसको नाम पनि भीमसेन स्तम्भ नै राखिएको थियो ।
विक्रम संवत् १८९० सालमा भत्किएपछि लगनटोलको धरहरा पुनर्निर्माण नभएको ऐतिहासिक दस्तावेजमा उल्लेख गरिएको छ । – पूर्णप्रसाद मिश्र/रासस