
काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले नेपालको शिक्षा, गरिबी न्यूनीकरण र ग्रामिण विकासको क्षेत्रमा स्वीस सरकारको योगदान महत्त्वपूर्ण रहेको बताएका छन् ।
विशेषगरी प्राविधिक तथा व्यवसायीक शिक्षा र तालिम, स्थानीय विकास, सुरक्षित आप्रवासन, प्राकृतिक स्रोत व्यवस्थापन, सामुदायिक वन, यातायात र कृषिका क्षेत्रमा स्वीस सहयोग केन्द्रित रहेकोमा खुसी व्यक्त गर्दै त्यसलाई निरन्तरता दिन र आपसी सहयोग अघि बढाउन नेपाल सरकार तत्पर रहेको उनले बताए ।
नेपालका लागि स्वीजरल्याण्डका राजदूत इलिजावेथ भोन क्यापलर संग भएको शिष्टाचार भेटको क्रममा मन्त्री श्रेष्ठले स्वीस सरकारले गरेको सहयोगको प्रशंसा समेत गरे ।
सो अवसरमा मन्त्री श्रेष्ठले स्वीस सरकारको सहयोगमा मन्त्रालय अन्तरगत शिक्षा क्षेत्रमा केही महत्वपुर्ण परियोजना सम्पन्न भएका बताउदै त्यस किसिमको परियोजनालाई निरन्तरता दिन आग्रह गरे ।