
बाँकेमा कोरोना सङ्क्रमणका कारण आज २८ वर्षीय युवकसहित तीन बिरामीको उपचारका क्रममा मृत्यु भएको छ ।
नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पताल कोहलपुरमा उपचारारत बाँकेको जानकी गाउँपालिका–१ का ७१ वर्षीय महिला, बैजनाथ गाउँपालिका–६ का २८ वर्षीय पुरुष र सल्यानको बनगाड कुपिण्डे नगरपालिका–३ का ५६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।
उनका अनुसार बिरामीमा रोगको प्रकृतिअनुसार उपचार गर्दागर्दै मृत्यु भएको हो । कोरोना सङ्क्रमण दर बढेसँगै बाँकेमा मृत्यु हुने सङ्ख्या पनि बढेको छ । बिहीवार पनि बाँकेमा तीन जना सङ्क्रमितको मृत्यु भएको थियो ।
बाँकेमा आज बिहानसम्म ४२ पुरुष र २७ महिला गरी ६९ जना तथा जिल्ला बाहिरका ७४ पुरुष र २५ महिला गरी कूल ९९ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
यहाँस्थित भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजको शिक्षण अस्पतालमा दैनिक दुई देखि चार सङ्क्रमितसम्मको मृत्यु हुने गरेकोे छ ।