
भारतमा गत २४ घण्टामा ३ लाख २३ हजारभन्दा बढी नागरिक कोरोना भाइरस संक्रमित भेटिएका छन् ।
एकैदिन ३ लाखभन्दा बढी कोरोना भाइरस संक्रमित भेटिएको यो छठौं दिन भएको बताइएको छ । कोरोना महामारी शुरू भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्यांकले जानकारी दिएको छ ।
गत २४ घण्टायता २ हजार ७७१ जनाको ज्यान गएको छ । यससँगै भारतमा कोरोना संक्रमणबाट मात्र १ लाख ९७ हजार ८९४ व्यक्तिको निधन भइसकेको छ ।
यसरी भारतमा हालसम्ममा कोरोना संक्रमणबाट १ करोड ७६ लाख ३६ हजारभन्दा बढी व्यक्ति संक्रमित हुन पुगेका बताइएको छ ।
भारतमा हाल २८ लाख ८२ हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन् । भारतमा हालसम्म १ करोड ४५ लाख ५६ हजारभन्दा बढी व्यक्ति कोरोनामुक्त भएका छन् ।
भारतमा गत १६ जनवरीदेखि कोरोना भाइरसविरुद्ध खोप अभियान शुरू भएको थियो । हालसम्म भारतमा १४ करोड ५० लाख ११ हजारभन्दा बढी व्यक्तिले खोप लगाएका छन् ।
कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलि नै रहेको छ । भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सिन र स्पुट्निक भी गरी ३ प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् ।
रुसले विकास गरेको स्पुट्निक भी भने गत १२ अप्रिलदेखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।
भारतमा सोमवार मात्रै १६ लाख ५८ हजार ७०० जनाको कोरोना परीक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । २६ अप्रिलसम्म कूल २८ करोड ९७ लाख २१ हजारभन्दा बढीले कोरोना परीक्षण गरिसकेको पनि परिषद्ले उल्लेख गरेको छ ।
भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यका रूपमा रहेको छ । दिल्लीमा सोमवार एकैदिनमा २० हजार २०१ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको र ३८० जनाको मृत्यु भएको छ ।
दिल्लीमा कोरोना शुरू भएदेखि हालसम्म १४ हजार ६२८ व्यक्तिको मृत्यु भएको छ । – रासस/सिन्ह्वा