
युरोपेली आयोगकी अध्यक्ष उर्सुला फोन देर लेयेनले आफूमाथि टर्कीमा गरिएको व्यवहारमा निकै चित्त दुखाउँदै सोमवार बयान दिएकी छन् ।
राष्ट्रपति रेचेप तैयिप एर्दोआन र युरोपेली परिषद्का अध्यक्ष चार्ल्स मिशेलसँगको बैठकमा लेयेनलाई कुर्सी नदिएर अपमान गरिएको थियो ।
आफूलाई कुर्सी नदिएर सोफामा बस्न लगाउँदा चित्त कुँडिएको र एक्लो अनुभव गरेको उनले बताइन् । आफू महिला भएकैले यसरी हेपिन बाध्य भएको उनको कथन छ ।
टर्कीको राष्ट्रपति भवनको बैठक कक्षमा दुईवटा मात्र कुर्सी राखिएको थियो जसमा एर्दोआन र मिशेल हत्तनपत्त गएर बसे अनि लेयेन चाहिँ अकमक्क परेर उभिनुपरेको थियो ।
युरोपेली संसद्लाई सम्बोधन गर्दै लेयेनले भनिन्, ‘युरोपेली आयोगको प्रथम महिला अध्यक्ष हुँ म । अध्यक्षको आफ्नै विशिष्ट हैसियत हुन्छ । मलाई टर्कीमा पदको हैसियत अनुसारको व्यवहार हुन्छ भन्ने लागेको थियो । तर त्यस्तो व्यवहार देखिएन ।’
अप्रिल ७ मा भएको घटनामा महिलाको अपमान गरिएको अनि आफू बोल्न सक्ने ठाउँमा भएर बोल्न सकेको नत्र कैयौं महिला अपमानको आँसु चुपचाप पिउन बाध्य भएको उनले बताइन् ।
इस्तानबुल महासन्धिबाट पछि हटेकोमा उनले टर्कीको आलोचना पनि गरिन् । उक्त सन्धि महिला तथा बालबालिकाविरुद्धको हिंसालाई रोक्नका लागि बनाइएको हो ।
चार्ल्स मिशेलको व्यवहारबाट क्षुब्ध भएका युरोपेली संघका नेताहरूले आगामी निर्वाचनमा उनलाई मत नदिने घोषणा गरिसकेका छन् । मिशेलले चाहिँ लेयेनले कुर्सी नपाएको कुरा आफूले याद गरेको तर कूटनीतिक मर्यादा भंग होला भनी आपत्ति नउठाएको बताए ।