
गोरखाको बारपाक सुलिकोट गाउँपालिकाले साविकको बारपाक क्षेत्रमा किसानको गोठगोठमा पुगेर भेडाका लागि स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
गाउँपालिकाले भेडाका बच्चाको मृत्युदर घटाउन सहजीकरण गर्ने उद्देश्यले गोठगोठमा पुगेर भेडाको स्वास्थ्य शिविर सञ्चालन गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्टले जानकारी दिए ।
गाउँपालिकाको वडा नम्बर १ र २ मा पर्ने बारपाकमा पछिल्लो समय भेडाका बच्चाको मृत्युदर बढ्दै स्वास्थ्य भेडा उत्पादनका लागि गाउँपालिका पशुसेवा शाखा कार्यालयमार्फत शिविर सञ्चालन गरिएको उनले बताए ।
‘शिविरबाट भेडा स्वास्थ्य सुरक्षामा कसरी ध्यान दिनुपर्छ भनेर किसानलाई जानकारी प्रदान गरिएको छ,’ अध्यक्ष भट्टले भने, ‘आवश्यकता अनुसार शाखामार्फत किसानलाई औषधि वितरण गरिएको छ ।’
गाउँपालिकाले ऊन विकासका लागि भेडा प्रवद्र्धन कार्यक्रममार्फत शिविर सञ्चालन गरेको हो । कार्यक्रम अन्तर्गत गाउँपालिकाले पालिकाभित्र भेडाको उत्पादन तथा बजारीकरण, समूहगत रूपमा ऊन काट्ने मशिन वितरण, ऊन धुने मशिन, उन्नत चर्खा, सोलार त्रिपाललगायत वितरण गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
बारपाक क्षेत्रमा स्थानीय जातका भेडा पालन गरिँदै आएकाले सोचेजस्तो प्रतिफल प्राप्त हुन नसकेको भन्दै गाउँपालिकाले अब उन्नत जातका भेडापालन किसानलाई प्रोत्साहन गर्ने योजना बनाएको छ । संघीय सरकारको बजेटअन्तर्गत गाउँपालिकाले भेडाका प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्दै आएको छ ।