
सांसदहरूको पीसीआर जाँच गरेर मात्र बैठक सञ्चालन गर्न माग गर्दै सत्तारुढ नेकपा एमालेका सांसदहरूले अवरुद्ध गरेपछि गण्डकी प्रदेशसभा बैठक २० मिनेटका लागि स्थगित भएको छ ।
मंगलवार बसेको प्रदेशसभा बैठकको शुरूमै एमाले सांसद राजीव पहरीले कोरोना महामारीका कारण निषेधाज्ञाको स्थिति बनेको भन्दै सांसदहरूको पीसीआर जाँच गर्न माग गरेका थिए ।
पहरीले कोरोना संक्रमण फैलिएर भोलिको दिनमा सांसद वा कर्मचारीको मृत्यु भएमा त्यसको जिम्मेवारी को हुने भनेर प्रश्न गरे ।
पहारी बोलेपछि एमाले सांसदहरूले उभिएर विरोध जनाएका थिए । एमाले सांसदको अवरोधपछि प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारीले २० मिनेटको लागि बैठक स्थगित गरेका छन् ।
‘सरकारका मन्त्री समेतको उपस्थितिमा कार्यव्यवस्था परामर्श समितिले बैठकको कार्यसूची तय गरेको हो, आजको कार्यसूची सबैको सर्वसम्मत निर्णयबाट भएको हो, बसेर सहयोग गर्नुस्,’ सभामुख अधिकारीले भने ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध पेश भएको अविश्वासको प्रस्तावमाथि छलफल गर्ने मंगलवारको बैठकको कार्यसूची थियो । नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपा सांसदले समावेदन गरेपछि प्रदेश सभाको विशेष अधिवेशन सोमवार शुरू भएको थियो ।
सोमवारको बैठकमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव पेश गरेका थिए ।