
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षासँगै उत्पादन र प्रसारलाई सँगै लिएर व्यावहारिक शिक्षामा जोड दिनुपर्ने बताएका छन् ।
विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहलाई मंगलवार रामपुरमा सम्बोधन गर्दै उनले विश्वविद्यालयले दक्ष अनुशासित कृषि र वन प्राविधिक उत्पादन गरेको बताए ।
‘यहाँबाट उत्पादित विद्यार्थीको ज्ञानलाई देश विकासमा लगाउन जरुरी छ,’ उनले भने, ‘विश्वविद्यालयले शिक्षासँगै प्रसारणमा गरेको योगदानले महत्त्वपूर्ण भूमिका खेलेको छ । यहाँ उत्पादित विद्यार्थीलाई देशको विकासमा लगाउनुपर्छ ।’
त्रिभुवन विश्वविद्यालय र कृषि तथा वन विज्ञान विश्वविद्यालयबीचको विवाद समाधानतर्फ मन्त्रालय लागेको उनको भनाइ छ ।
विश्वविद्यालयका उपकुलपति प्रा.डा. पुण्यप्रसाद रेग्मी, रजिस्ट्रार डा. शारदा थपलियाले विश्वविद्यालयको विविध विषयमा प्रकाश पारेका थिए । दीक्षान्त समारोहमा १ हजार २५७ विद्यार्थी भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।
स्नातक, स्नातकोत्तर र विद्यावारिधि तहका विद्यार्थीलाई दीक्षित गरिएको छ ।
स्नातक तहमा कृषितर्फ ५१२, वन विज्ञानतर्फ २२४, पशु चिकित्सातर्फ १४० र मत्स्य विज्ञानतर्फ ४४ जना सहभागी भएका थिए । स्नातकोत्तर तहमा कृषितर्फ २२५, जैविक प्रविधितर्फ ६, वन विज्ञानतर्फ १४, पशु विज्ञानतर्फ ३२, पशु चिकित्सातर्फ ३८ र मत्स्य विज्ञानतर्फ ७ जना सहभागी भएका थिए । विद्यावारिधितर्फ १५ विद्यार्थी सहभागी भए ।
विश्वविद्यालयले नेपालका विभिन्न स्थानमा रहेका ७ कलेजलाई सम्बन्धन दिई पठनपाठन सञ्चालन गर्दै आएको छ । तीमध्ये ६ कृषि संकाय र एउटा वन विज्ञान संकायको छ ।