
नेकपा माओवादी केन्द्रले कोरोना नियन्त्रणका लागि सर्वदलीय संयन्त्र बनाउन सरकारसँग माग गरेको छ । पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बसेको स्थायी कमिटीको बैठकले कोरोना महामारी नियन्त्रणमा काम गर्ने गरी सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन सरकारसँग माग गरेको हो ।
बैठकका निर्णयहरु सुनाउँदै स्थायी कमिटी सदस्य नारायणकाजी श्रेष्ठले भने, ‘विश्व नै कोभिड–१९ को महामारीको अर्को लहरको प्रकोपबाट गाँजिएको छ र नेपालमा पनि दोस्रो लहर तिब्र रुपमा अगाडि बढिरहेको छ । त्यसले जनताको जनजीवन, जीवनको रक्षाको प्रश्न, जनस्वास्थ्यको प्रश्न, राष्ट्रिय अर्थतन्त्रको प्रश्न, सामाजिक अवस्थाको प्रश्न सबैतिर नकारात्मक असर पार्ने खतरा बढ्दै गइरहेको छ । त्यसैले कोभिड–१९ को बहुआयामिक प्रभावलाई पनि सम्बोधन गर्न र मुख्यतः यसको रोकथाम र नियन्त्रणका लागि देशको सरकार, राजनीतिक पार्टी, नागरिक समाज, चिकित्साकर्मी, जनस्वास्थ्यविद्, र सामाजिक संघ संगठन, स्वास्थ्यकर्मीहरु सबै एकतावद्ध भएर हातेमालो गर्दै अघि बढन अपिल गरेको छ र साथसाथै यसका निम्ति सर्वपक्षीय राजनीतिक संयन्त्र बनाउन पनि सरकारसँग माग गरेको छ ।
छिमेकी मुलुक भारतमा कोभिड महामारी भयावह बनेको अवस्थामा नेपाल–भारत सीमामा हुने आवागमनमा कडाई पूर्वक लागू गर्न र नेपाल आउने नेपाली नागरिकको स्वास्थ्य परीक्षण गर्न सरकारसँग माग गरेको छ ।
यस्तै बैठकले डेडिकेटेड कोभिड अस्पतालहरुरु निर्माण गर्न तत्काल अगाडि बढन माग गरेको छ । अक्सिजन, भेन्टिलेटर र आइसोलेसन सेन्टरहरूको व्यवस्था गर्न, आवश्यक स्वास्थ्य सामग्री र औषधीको व्यवस्था गर्न र अग्रपङ्तीमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मीहरु र सुरक्षा कर्मीहरुको लागि काम गर्ने उचित वातावरण निर्माणका लागि पनि माग गरेको छ ।
मजदूर, किसान, विपन्न परिवारका लागि छाकटार्न नै समस्या आउने स्थिति आउने देखिएको कारणले गर्दा उनीहरुलाई तत्काल राहत दिन पनि पार्टीले माग गरेको छ । साथसाथै उत्पादन प्रक्रियालाई जारी राख्ने निम्ति पनि सरकारको ध्यानाकर्षण गराएको छ । राष्ट्रिय अर्थतन्त्रको पुनरउत्थानको निम्ति समयमै प्याकेज तयार गर्न पनि माग गरेको छ ।
कोभिड–१९ लाई जनता आतंकित पार्ने र आफ्नो राजनीतिक उद्देश्य पुरा गर्ने हतियार नबनाउन पनि माग गरेको छ । त्यस्तै सम्पूर्ण पार्टी समिति र पार्टी पंतिलाई कोभिड–१९ को रोकथाम र नियन्त्रणको लागि स्वयंसेवकको भावका साथ काम गर्न पनि निर्देशन दिएको छ ।
यस्तै बैठकले अन्तरिम विधान संशोधन प्रस्तावलाई केन्द्रीय कमिटीमा प्रस्तुत गर्नेगरी पारित गरेको पनि नेता श्रेष्ठले बताए ।