
हुम्लाको सिमकोट गाउँपालिका–८ मा रहेको स्याँडा स्वास्थ्य चौकीमा एक हप्तादेखि स्वास्थ्यकर्मी नहुँदा सेवाग्राहीलाई समस्या भएको छ । स्वास्थ्यचौकीमा स्वास्थ्यकर्मी नहुँदा स्थानीयवासीहरु सेवा पाउन सकेका छैनन् ।
उक्त स्वास्थ्यचौकीमा एक एचए, तीन अहेब, दुई अनमी र एक जना कार्यालय सहयोगी गरेर जम्मा सात जनाको दरबन्दी भए पनि यतिखेर दुई अनमीले मात्रै काम गर्दै आएको स्थानीयवासीले बताएका छन् ।
अनमी स्वास्थ्य संस्थामै कार्यरत भएको भए पनि सेवाग्राहीले भने पर्याप्त मात्रामा सेवा नपाएको गुनासो गरेका छन् ।
चार दिनदेखि लगातार ज्वरोबाट ग्रस्त भएका एक वर्षीय बालकलाई उपचार गर्नका लागि स्वास्थ्यचौकीमा लैजाँदा झारो टार्ने काम गरेको सिमकोट–८ याङ्गु गाउँका स्थानीयवासी गजिन्द सुनारले गुनासो गरे।
अन्य स्वास्थ्यकर्मीलाई उपस्थित हुन पटकपटक ताकेता गर्दा पनि नआएको वडाध्यक्ष चक्र बुढाले बताए । आउँदो आइतवारसम्म स्वास्थ्यचौकीमा फिर्ता हुने सो स्वास्थ्यचौकीका इन्चार्ज रविजङ्ग शाहीले बताए ।