
पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरको शल्यक्रिया हुने भएको छ ।
काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारीको नेतृत्वमा शल्यक्रिया सम्पन्न हुनेछ ।
त्यसका लागि अध्यक्ष भट्टराई आजै अस्पताल भर्ना हुने जसपाका नेता विश्वदीप पाण्डेले जानकारी दिए । शल्यक्रिया वैशाख १७ गते शुक्रवार हुनेछ ।
यसअघि ट्युमरमा क्यान्सरको शंका भएपछि भारतको दिल्लीमा उनको स्वास्थ्य परीक्षण भएको थियो ।
वायोप्सी, DOTA NOC परीक्षण, PET CT Scan सहित अन्य परीक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका थिए ।
शल्यक्रियाद्वारा ट्युमर भने चाँडै नै फाल्नुपर्ने चिकित्सकको सुझाव रहेको थियो ।
चिकित्सकको सुझावअनुसार नै अध्यक्ष भट्टराईले अहिले नेपालकै सरकारी अस्पताल वीर अस्पतालमा ट्युमरको शल्यक्रिया गराउन लागेका हुन् ।