भारतमा कोरोनाविरुद्धको खोपको दोस्रो चरण शुरू गरिएको छ ।
तर पञ्जाब विश्वविद्यालयका पूर्व डीन तथा जवाहरलाल नेहरू विश्वविद्यालयका पूर्वप्राध्यापक चमनलालले खोप लगाउन अस्वीकार गरेका छन् । उनले पञ्जाबका मुख्यमन्त्रीलाई खोप नलगाउने कारण खुलाएर पत्र लेखेका छन् ।
खोप लगाइएपछि दिइने प्रमाणपत्रका प्रधानमन्त्री नरेन्द्र मोदीको तस्वीर राखिएकाले आफूलाई आपत्ति रहेको उनले बताए ।
उनका अनुसार, संसारका कुनै पनि खोप प्रमाणपत्रमा कुनै राजनीतिक नेताको तस्वीर छैन । यो राष्ट्रिय अभियान हो र यसमा सम्बन्धित क्षेत्रको स्वास्थ्य वा चिकित्सा अधिकारीको हस्ताक्षर तथा छाप हुनुपर्छ । तर भारतमा असहाय नागरिकलाई सत्तारूढ नेताको तस्वीर भिडाइँदैछ ।
सत्तारूढ दलको नीति र आपराधिक लापरवाहीका कारण कोरोनाको सुनामी आएको उनले बताए ।
प्राध्यापक चमनलालका अनुसार, सात वर्षअघि सत्तामा आएदेखि मोदी आफ्नै प्रशंसा गरेर थाक्दैनन् ।
खोपको प्रमाणपत्रबाट मोदीको तस्वीर हटाउन उनले माग गरेका छन् ।