
चीनले आफ्नो नयाँ स्पेस स्टेसनको पहिलो मोड्युल बिहीवार सार्वजनिक गरेको छ ।
अन्तरिक्षमा स्थायी रूपमा मानव उपस्थितितर्फ यो पहिलो कदम हो । थ्याँह कोर मोड्युलमा जीवनका लागि आवश्यक सबै उपकरण छन् र अन्तरिक्षयात्रीहरू बस्नका लागि पर्याप्त स्थान छ ।
यसलाई चीनको हाइनान प्रान्तमा रहेको वनचाङबाट ५बी रकेटमार्फत प्रक्षेपण गरिएको हो ।
यसले सन् २०२२ मा काम शुरू गर्नेछ । त्यसअघि १० वटा मिसन सञ्चालन गरेर स्टेसनलाई असेम्बल गर्नका लागि पाटपुर्जाहरू पठाइनेछ र अर्बिटमा राम्ररी स्थापित गर्ने प्रयास गरिनेछ ।
चिनियाँ स्टेसन १५ वर्षसम्म अन्तरिक्षमा रहने र पृथ्वीबाट ४५० किलोमिटरको दूरीमा यो रहने बताइएको छ ।
चीनले पहिलो भूउपग्रह सन् १९७० मा पठाएको थियो । अनि सन् २००३ मा चीनले पहिलो टाइकोनट पठाएको थियो ।
चीनले थ्याँगोङ–१ ल्याब सन् २०११ को सेप्टेम्बर महिनामा पठाएको थियो । त्यसमार्फत अन्तरिक्षमा स्थायी स्टेसन बनाउने लक्ष्यको आरम्भ उसले गर्न चाहेको थियो ।