काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा प्रत्येक दिन कोरोना संक्रमित बिरामीहरू भर्ना हुन थालेपछि अस्पताल भरीभराउ अवस्थामा पुगेको छ ।
त्यसमा पनि अधिकांश सिभियर अर्थात जटिल किसिमको अवस्थामा संक्रमित बिरामीहरू भर्ना हुने क्रम दिन प्रतिदिन बढिरहेको छ ।
उक्त अस्पतालका कोभिड फोकल पर्सन समेत रहेका डा. अनुप बाँस्तोलाका अनुसार अस्पतालमा बिरामी भर्नाको दर हेर्दा चरम सीमा पार भएको बताउँछन् ।
कोरोनाको दोस्रो लहर आउँदासम्म कुल ७ जना संक्रमितहरूको उपचारको अवस्थामा मृत्यु भइसकेको छ ।
मृत्यु हुनेमा ३८ वर्षका युवादेखि ४७ वर्ष, ५९ वर्ष, ५० वर्ष, ५५ वर्ष उमेर समूहका बिरामी रहेको उनले बताए ।
उक्त अस्पतालमा कुल २० बेडको अति सघन उपचार कक्ष (आईसीयू) छ जसलाई विस्तार गरेर २७ बेडसम्म बनाइएकोमा २१ देखि २२ बेडसम्म ‘अकुपाइ’ भएको छ ।
‘१२ वटा भेन्टिलेटरमध्ये ९ वटा भेन्टीलेटर राम्रो तरिकाले सञ्चालन भएको भएपनि पछिल्लो दुई सप्ताहदेखि सबै भेन्टीलेटर पनि अकुपाइ नै छ,’ डा. बास्तोलाले भने, ‘आईसीयू र भेन्टीलेटर सधैँ अकुपाइ नै रहने गरेको छ, यहाँसम्म कि अन्य बिरामीहरू आईसीयूमा भर्ना हुनका लागि वेटिङमा समेत रहने गरेका छन् ।’
संक्रमित बिरामीमा पहिलेको जस्तै लक्षणहरू देखा पर्ने गरेको छ । शरीर दुख्ने, टाउको दुख्ने, रुघा खोकी लाग्ने, शरीरमा रातो डाम आउने, ज्वरो आउने, त्यसको केही दिन अर्थात् ४-५ दिनपछि श्वास प्रश्वासमा समस्या आउने, थकाई लाग्ने, निमोनिया हुने जस्ता लक्षण देखिएको उनले बताए। ‘धेरै जसो बिरामीलाई अक्सिजनको लेभल कम भएर अक्सिजनको आवश्यकता पर्ने गरेको छ,’ उनले थपे, ‘हाम्रो अस्पतालमा अक्सिजनको प्लान्ट नै रहेको तथा प्रोभाइडरले पनि आपूर्तिमा कमी हुन नदिने भनेर प्रतिबद्धता जनाएका कारण अहिले नै अक्सिजनको समस्या भने यहाँ भएको छैन ।’
अनावश्यक रूपमा लक्षण नदेखिएका तथा सिभियर वा मोडरेट कन्डिसन नभएका बिरामीलाई भर्ना गर्ने कामलाई भने डिस्करेज गरिएको उनले बताए । पहिलो लहरको कोभिडको बिरामी कम हुन लागेपछि जसरी लकडाउन खुल्यो र मानिसले स्वास्थ्यसम्बन्धी अपनाउनुपर्ने मापदण्ड नअपनाउँदा दोस्रो लहरमा झन समस्या आएको उनले बताए ।
२५ जनाभन्दा बढी मानिस भेला नहुने ठाउँमा भेला भए, आम सर्वसाधारणले कोरोनालाई एकदम हल्का रूपमा लिए । ‘स्वास्थ्य मन्त्रालयले पटक-पटक कोरोना धेरै साह्रो छ भनेर वार्न गर्दागर्दै पनि मानिसले त्यसलाई अत्यन्त हल्का तरिकाले लिए, जीवनशैली र व्यवहार परिवर्तन गरेनन्,’ बाँस्तोलाले भने, ‘जबसम्म आईसीयूको भेन्टीलेटरमा मानिस पुग्दैनन् तबसम्म कोरोना कति घातक हो भन्ने कुरा नबुझ्ने घातक प्रवृत्तिको प्रतिफल अहिले दोस्रो लहरमा अवस्था भयावह बनेको छ। ’
पहिलो खोप लगाएकामध्ये केही पुनः दोस्रो लहरमा संक्रमित भए पनि दोस्रो खोप डोज पनि खोप लगाएका मानिस अहिलेसम्म संक्रमित भएर नआएको उनले बताए ।
टेकुको मात्र होइन, काठमाडौं उपत्यकामै रहेका विभिन्न कोरोना अस्पतालमा सिकिस्त संक्रमितहरूको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपलब्ध गराएको तथ्यांक अनुसार वैशाख १४ गते दिनको २ बजेसम्ममा काठमाडौं उपत्यकामा मात्रै ६ सय ९६ जना विभिन्न आइसोलेसनमा भर्ना भएका छन्, जसमध्ये १ सय १२ जना आईसीयूमा र ४५ जना भेन्टीलेटरमा उपचाररत छन् ।
सशस्त्र प्रहरी बल अस्पताल, बलम्बुमा १ सय ३६ जना भर्ना भएकोमा ११ जना आईसीयूमा र ८ जना भेन्टीलेटरमा छन् । वीरेन्द्र अस्पताल छाउनीमा २९ जना भर्ना भएकोमा ४ जना आईसीयूमा छन् । वीर अस्पतालमा ४० जना भर्ना भएकोमा ६ जना आईसीयूमा र १ जना भेन्टीलेटरमा छन् ।
नेपाल प्रहरी अस्पतालमा ८१ जना आइसोलेसनमा उपचार गराइरहेकामध्ये ७ जना आईसीयूमा छन् । शुक्रराज ट्रपिकल अस्पताल टेकुमा ५५ जना आइसोलेसनमा रहेकामध्ये ११ जना आईसीयूमा र १० जना भेन्टीलेटरमा छन् । त्यसैगरी त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा ४० जना आइसोलेसनमा रहेकामध्ये ६ जना आईसीयूमा र ४ जना भेन्टीलेटरमा उपचाररत छन् ।
पाटन अस्पताल, ललितपुरमा ८८ जना आइसोलेसनमा भर्ना भएकामध्ये ९ जना आईसीयूमा र ८ जना भेन्टीलेटरमा छन् । निजामती कर्मचारी अस्पताल, काठमाडौंमा १७ जना भर्ना भएका मध्ये १/१ जना आइसोलेसन र भेन्टीलेटरमा छन । भक्तपुर अस्पताल, भक्तपुरमा १८ जना आइसोलेसनमा उपचाररत रहेकोमा २ जना आईसीयूमा र १ जना भेन्टीलेटरमा छन् ।
राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र, कीर्तिपुरमा ६५ जना भर्ना भएका छन् । ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल, काठमाडौंमा २१ जना आइसोलेसनमा भर्ना भएका छन् जसमध्ये ९ जना आईसीयूमा र ३ जना भेन्टीलेटरमा छन् । ह्याम्स अस्पताल, काठमाडौंमा ६१ जना भर्ना भएकोमा २० जना आईसीयूमा र ४ जना भेन्टीलेटरमा छन् । नेपाल मेडिसिटी अस्पताल भैँसेपाटीमा ४५ जना आइसोलेसनमा भर्ना भएकोमा २६ जना आईसीयूमा र ५ जना भेन्टीलेटरमा उपचाररत छन् ।
देशभरिमा अहिले कुल २३ हजार ३५२ जना होम आइसोलेसनमा छन् भने २ हजार ८७३ जना संस्थागत आइसोलेसनमा छन् । त्यसैगरी देशभरिमा कुल ३ सय १५ जना आईसीयूमा छन् भने ८४ जना भेन्टीलेटरमा छन् । देशभरिमा कूल आईसीयूको बेड संख्या १ हजार २ सय २ छ भने भेन्टीलेटरको संख्या ४ सय ८७ मात्र छ ।
स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार रियल टाइम पीसीआर परीक्षण गर्दा संक्रमण दर १२.७ प्रतिशत छ भने संक्रमितमध्ये मृत्यु दर १.१ प्रतिशत मात्र छ । पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारी पनि पहिलेको तुलनामा अहिले झन डरलाग्दो तरिकाले संक्रमणको दर बढिरहेको बताउँछन् ।
‘पहिलेको तुलनामा अहिले दोस्रो लहरमा संक्रमणको दर पनि तीव्र गतिमा बढ्दैछ भने अस्पतालमा भर्ना हुने दर पनि बढेको छ,’ अधिकारीले लोकान्तरसँग भने, ‘भर्ना हुनेको अनुपातमा अति सघन उपचार कक्षमा भर्ना हुने दरसँगै मृत्यु हुने दर पनि बढ्दै गएको छ ।’ पहिलेको भन्दा अहिले जुनसुकै उमेर समूहलाई पनि संक्रमण हुने गरेका कारण पहिलेको भन्दा अहिले डरलाग्दो तरिकाले फरक किसिमको संक्रमण देखिएको उनको कथन छ ।
‘कोरोना भाइरसको भेरिएन्ट फरक हुनुका साथसाथै कोरोनाको संक्रमणलाई नेपालीले कम आँकेर, कम संवेदनशील भएर लापरवाही गरेका कारण यति संख्यामा बढ्दै गएको हो,’ अधिकारीले थपे, ‘अहिले पनि व्यवहार परिवर्तन गरेर स्वास्थ्य मापदण्ड पूरा गरियो भने संक्रमणलाई रोकथाम गर्न सकिन्छ ।’
अस्पतालमा गएर उपचार गराएर निको भइहाल्छ भन्ने सोचेर हेलचेक्र्याइँ गर्यो भने आगामी दिनमा झनझन भयावह अवस्था आउने उनले बताए। ‘यद्यपि नआतिऔं, नडराऔं, नतर्सिऔं, सजग र सचेत भएर आफू पनि जोगिऔं र अरूलाई पनि जोगाऊँ भन्ने सोचका साथ व्यवहार परिवर्तन हुनु जरूरी छ,’ उनले भने,‘सरकारले पनि आफ्नो तयारी गरेर बसेको छ, उपचारका लागि पूर्वाधार तयारी गरेर बसेको छ।’