
नयाँ भेरियन्ट सहितको कोरोना भाइरस नियन्त्रणमा लिन सरकारले काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरेको भए पनि निःशुल्क शव ढुवानी र आर्थिक सहायता वितरण नरोकिने वैदेशिक रोजगार बोर्डले जनाएको छ ।
बोर्डले एक सूचना जारी गर्दै अन्य सेवाहरू भने अनलाइनबाटै सञ्चालन हुने जनाएको छ ।
सरकारले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि मृतकको घर ठेगानासम्म निःशुल्क ढुवानी गर्दै आएको छ ।
काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले कोरोना संक्रमणले भयावह अवस्था निम्त्याउन सक्ने भन्दै बिहीवारदेखि उपत्यकाका तीनै जिल्लामा निषेधाज्ञा जारी गरेका छन् ।
उपत्यकामा निषेधाज्ञा जारी भए पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने हवाई सेवा भने रोकिएका छैनन् । दैनिक औसत २/३ वटा शव विमानस्थलमा आउने गरेको छ ।