भारतको राजधानी दिल्लीमा कोरोनाले हाहाकार मच्चाइरहेको बेलामा सत्तारूढ आम आदमी पार्टी (आप) का विधायकले नै नेतृत्वमाथि प्रश्न उठाएका छन् ।
मटिया महलबाट आपका विधायक शोएब इकबालका अनुसार, दिल्लीमा कोरोना नियन्त्रणको कुनै काम भइरहेको छैन । दिल्लीमा जनताको पीडा सुन्ने कोही पनि छैन ।
उनले भने, ‘दिल्लीमा न बेड छ, न अक्सिजन छ, न त औषधि नै उपलब्ध छ । यहाँ कुनै कामै भएको छैन । मलाई रुन मन लागेको छ । राष्ट्रपति शासन लगाउनुपर्छ ।’
दिल्लीमा कागजमा मात्र सरकार चलिरहेको उनले बताए । उनले भने, ‘म ६ पटक विधायक भइसकें । तैपनि मेरो कुरा कोही सुन्दैन । कुनै नोडल अधिकारी छैन ।’
इकबालको भनाइलाई कांग्रेस र भाजपाले पनि समर्थन गरेका छन् । भाजपाले स्थिति मुख्यमन्त्री अरविन्द केजरीवालको नियन्त्रण बाहिर गइसकेको बताए ।
कांग्रेस नेता अनिल चौधरीले पनि दिल्लीमा राष्ट्रपति शासन लगाउन माग गरेका छन् ।