
निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने बागमती प्रदेशको रिक्त राष्ट्रिय सभा सदस्य उपनिर्वाचनका लागि मतदान केन्द्र तोकेको छ ।
आयोगले हेटौंडा उपमहानगरपालिका वडा नं. ४ स्थित भुटनदेवी मा.वि.लाई मतदान स्थल तोकी उक्त मतदान स्थलमा प्रदेश सभा सदस्य ११० जनाका लागि केन्द्र (क) र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जनाका लागि केन्द्र (ख) गरी छुट्टाछुट्टै मतदान केन्द्र तोकेको सहसचिव एवम् आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
यसैगरी आजै निर्वाचन अधिकृत, प्रदेश निर्वाचन अधिकारी र कम्प्यूटर अपरेटरका लागि राष्ट्रिय सभा सदस्य निर्वाचन सञ्चालन तथा व्यवस्थापन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको आयोगले जनाएको छ ।