
भेरी अस्पताल नेपालगञ्जमा शुक्रवार २२७ नयाँ कोरोना संक्रमित थपिएका छन् ।
कोरोना संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । बिहीवार अस्पतालको प्रयोगशालामा २१४ जना थपिएकामा शुक्रवार १३ जना बढी थपिएका हुन् ।
तीमध्ये १२८ पुरुष र ९९ महिला रहेको अस्पतालले जनाएको छ । संक्रमण पुष्टि हुनेमध्ये बाँकेका सबैभन्दा बढी छन् भने नेपालगञ्ज उपमहानगरपालिकाका मात्रै करीब ५० प्रतिशत नयाँ संक्रमित छन् ।
संक्रमितको संख्या बढेसँगै भेरी अस्पतालमा मृत्यु हुनेको संख्या पनि बढ्न थालेको छ । अस्पतालका अनुसार बिहीवार राति थप ३ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
मृत्यु हुनेमा बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–७ की ५७ वर्षीया महिला, बढैयाताल गाउँपालिका–७ बर्दियाकी ४७ वर्षीया महिला र गोदावरी नगरपालिका–११ कैलालीका ६२ वर्षीय पुरुष रहेका छन् ।
बिहीवार बाँकेका अस्पतालमा उपचार गराइरहेका कोरोना संक्रमितमध्ये १२ जनाको मृत्यु भएको थियो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका कोरोना फोकल पर्सन तेज वलीका अनुसार बाँकेका ९, कैलालीका २ र बर्दियाका १ जनाको मृत्यु भएको छ ।