
नेपाली सेनाको हिमाल सफाइमा निस्केको टोलीले धौलागिरी बेस क्याम्प नजिकै हेलिकप्टर र दुई वटा शव भेटाएको छ ।
सन् २००६ मा दुर्घटनामा परेको ९एन–एसीआर एयर डायनेष्टी हेलिकप्टर र दुई वटा शव धौलागिरी हिमालमा भेटिएको सैनिक प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले बताए। हिमाल सफाइमा निस्केको सेनाको टोलीले बिहीवार धौलागिरी बेस क्याम्प नजिकै हेलिकप्टर र दुई वटा माउन्टेन इक्युपमेण्ट सहितका शव भेटाएको थियाे ।
मृतकहरुको पहिचान नखुलेकाले यस सम्बन्धमा थप छानविन भइरहेको छ। साथै, उक्त शव व्यवस्थापन सम्बन्धमा सम्बन्धित निकायहरुसँग समन्वयको प्रक्रिया समेत शुरु गरिएको सैनिक प्रवक्ता पौडेलले बताए ।
सगरमाथा सहित ६ वटा हिमालहरूको सफाई गर्ने उद्देश्यका साथ संचालित उक्त अभियानमा खटिएका टोलीहरुले स्थानीय सरकार, सम्बद्ध संघसंस्था एवं स्थानीयवासीसँग आवश्यक समन्वय तथा सहकार्य गर्दै फोहोर संकलन कार्य गरिरहेका छन् ।

