
रूपन्देहीमा सञ्चालित स्तरीय होटललाई क्वारेन्टिन/आइसोलेसन बनाउन थालिएको छ । त्यसको लागि शुल्क समेत निर्धारण गरिएको छ ।
बुटवल उपमहानगरपालिका र होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीको समन्वयमा शुल्क निर्धारण गरिएको हो ।
कोरोनाको दोस्रो लहरबाट संक्रमित भई सामुदायिक आइसोलेसन/क्वारेन्टिनमा बस्न नचाहने होटलमा दैनिक तोकिएको दररेट तिरेर बस्ने सक्ने बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत उमा थापाले बताइन् ।
रुपन्देहीमा अहिले संक्रमण तीब्र रुपमा फैलिएको छ । ‘क’ बर्गको होटलमा एसी सहितएटेज् बाथरुम सहितको होटलमा चार पटक खाना नास्ता सहित ३ हजार रुपैयाँ, ‘ख’ बर्गको होटलमा एटेज् बाथरुम सहित चार पटक खानानास्ता सहित दिनको २ हजार र ‘ग’ वर्गको होटलमा एटेज् बाथरुम सहित चार पटक खाना नास्ता सहित दैनिक १६ सय रुपैयाँ शुल्क तय गरिएको छ ।
होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका महासचिव माधवकुमार खनालले सुरक्षित खानपान र बसोबासका लागि होटललाई क्वारेन्टिन बनाउन आफूहरू तयार रहेको बताए । त्यसका लागि रूपन्देहीका ४ सय होटल तयारी अवस्थामा राखिएका छन् ।
‘भाडाको रुपमा परिवार सहित बस्नेलाई संक्रमण भए होटलमा बस्न सक्नेछन्,’ खनालले भने, ‘सुरक्षित र आरामदायी रुपमा बस्न चाहने होटलमा आएर बस्न सक्नेछन् । होटलमा संक्रमित बस्नेको रेकर्ड र विवरण नगरपालिकालाई हामीले बुझाउनुपर्छ । संक्रमितलाई समस्या भए एम्बुलेन्स बोलाएर अस्पताल पठाउने जिम्मा पनि हाम्रै रहन्छ ।'
आइसोलेसन बनाउन तयार भएका होटलमा ४ हजार जनालाई राख्न सकिने व्यवसायीहरु बताउँछन् ।
